एसएसपीसहित १४ सयलाई विभागीय कारबाही

साउन ५,काठमाडौं– प्रहरी प्रधान कार्यलयले प्रहरी नियमावली विपरीत कामकारबाही गरेको आरोपमा वरिष्ठ उपरीक्षकसहित एकजार चार सय १९ जनालाई विभागीय कारबाही गरेको छ।

जसमध्ये आठ जना प्रहरी उपरीक्षक, नौ जना नायव उपरीक्षक र १८ जना प्रहरी निरीक्षक विभागीय कारबाहीमा परेका हुन्। एकजना प्रहरी उपरीक्षकको पदोन्नतिरोक्का र चार जनाले नसिहत पाएका छन्। यस आर्थिक वर्षममा दुईजना प्रहरी निरीक्षकसहित ३० जनालाई सेवाबाटै बर्खास्त गरिएको छ। यस्तै तीन जना नायब निरीक्षकसहित दुई सय १४ जनालाई सेवाबाट हटाइएको कार्यलयले जनाएको छ।

दुई जना निरीक्षकसहित एक सय तीनजना निलम्बनमा परेका छन्। प्रधान कार्यालय अनुसार अघिल्ले वर्ष विभागीय कारबाहीमा पर्नेको संख्या एक हजार सात सय तीन थियो। यस वर्ष करिब तीन सय कम प्रहरी अधिकारी कारबाहीमा परेका हुन्।

प्रहरी प्रवक्ता नायव महानिरीक्षक माधव जोशीका अनुसार प्रहरीको नयाँ नियमावलीले बृत्ति विकासदेखि अवसरसम्म प्रहरी अधिकारीका सम्पूर्ण गतिविधि मूल्यांकन गर्ने व्यवस्थापछि कारबाहीमा पर्ने प्रहरीको संख्यामा कमी आएको हो। ‘बढुवा, शान्ति सेना र सरुवासमेतमा प्रहरी अधिकारीका गतिविधिको मूल्याकंन हुन्छ, हिजोको प्रहरी र आजको प्रहरीमा आएको सोचका कारण पनि प्रहरी आचरण विपरीत गर्नेको संख्या घटेको हो,’ जोशीले भने ।

कारबाहीमा पर्नेमा प्रहरी हबल्दार र सिपाहीको संख्या पछिल्ला वर्षजस्तै यस वर्ष पनि उच्च छ। यस पर्ष दुई सय ९८ प्रहरी हबल्दार र आठ सय ९२ प्रहरी जवान कारबाहीमा परेका छन्। अघिल्लो वर्ष दुई सय ८२ प्रहरी हबल्दार र एक हजार एक सय ५० प्रहरी जवान कारबाहीमा परेका हुन्।