भारी वर्षा अझै, कोसी, कर्णाली र महाकालीमा पानीको बहाव बढ्ने

साउन ४,काठमाडौं – मनसुनी रेखा नेपाल नजिक आइपुगेकाले देशका पूर्वी र पश्चिमी भागमा अझै केही दिन भारी वर्षा हुने मौसमविद्ले बताएका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाका पदाधिकारीले लगातारको वर्षाले पूर्व र पश्चिमका ठूला नदीमा पानीको मात्रा बढ्ने भएकाले सतर्क रहनसमेत सुझाएका छन्।

‘शनिवारदेखि मनसुनी रेखा पाकिस्तानको मुल्तान र बंगालको पूर्वी उत्तरबाट नेपालको सीमातिर सरेको छ,’ मौसमविद् मीनकुमार अर्यालले भने,‘जब यो रेखामाथि आउँछ, तब मनसुन सक्रिय हुन्छ र भारी वर्षा हुन्छ।’
दुई दिनदेखि भइरहेको वर्षा त्यसैको कारक भएको अर्यालको भनाई छ।

‘पाँच दिन सक्रिय भएपछि यो रेखा आफै तल झर्छ,’उनले भने,ुतल झरेपछि मनसुन पनि निष्क्रिय हुन्छ र पानी रोकिन्छ।’ लगातारको वर्षासँगै पूर्वमा कोसी, पश्चिममा कर्णाली र महाकाली नदीमा पानीको मात्रा बढेको छ।

मौसम विज्ञान विभागको बाढी भविष्यवाणी शाखाका विज्ञ विनोद पराजुलीले कर्णाली, भेरी, पश्चिम सेती र महाकाली तथा कोशीमा त्रास रहेको बताए।