पैसा झिक्नै ल्याप्चे, दृष्टिविहीनमैत्री छैनन् एटीएम

असार ३१ काठमाडौ – अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका सुशील अधिकारी प्रविधि प्रयोगमा सरदर तन्नेरीभन्दा पछि छैनन्। स्मार्टफोन बोक्ने उनी मोबाइलबाटै इन्टरनेटको दुनियाँ चहार्छन्।

कहिलेकाहीँ केही इबजारबाट सामान अर्डर पनि गर्छन्। ट्याब र कम्प्युटर उनका दैनिक आवश्यकता बस्तु जस्तै भएका छन्।तर, बैंक खातामा रहेको आफ्नो पैसा निकाल्नुपर्यो भने उनले ल्याप्चे नै लगाउनुपर्छ।

पैसा निकाल्नुपर्दा उनी चेक बोकेर बैंकमै पुग्छन्। र, बैंक कर्मचारीसामू चेकमा ल्याप्चे लगाउँछन्। बुढे औंलामा लागेको मसी कपालमा लगेर पुछ्छन् र पैसा बोकेर फर्किन्छन्। दृष्टिविहीन सुशील प्रतिनिधि पात्रमात्रै हुन्।

पढेलेखेको, प्रविधिमा अभ्यस्त भएका र देश विदेशमा घुमेका अधिकांश दृष्टिविहीनलाई समेत सरकारी र निजी कुनै पनि बैंकले एटीएम सुविधा दिएका छैनन्। एटीएम कार्ड प्रयोग गर्न नसक्ने भएर उनीहरुलाई बैंकले त्यस्तो सुविधा नदिएको भने होइन।

सुशील युरोप, अमेरिका गएका बेला एटीएम कार्डबाटै आर्थिक कारोबार गर्छन्, तर नेपालमा भने एटीएम प्रयोग गर्न पाउँदैनन्।