ढाकाले बढाएको ढुकढुकी, नेपालमा आतंकवादको प्रभाव छैन

असार २५ ,काठमाडौं – बिहीबार नेपाली जामे र कश्मीरी मस्जिद अगाडि सडकमा सवारी निषेध थियो। दरबारमार्ग संस्कृत छात्रावासदेखि रत्नपार्कसम्मको क्षेत्रमा बर्दिधारी प्रहरीको बाक्लो उपस्थिति थियो।
छात्राबास, त्रिचन्द्र क्याम्पस, कमलादी मोड, रत्नपार्कका चार कुनामा सादा पोसाकमा उत्तिकै सुरक्षाकर्मी खटिएका थिए। मस्जिद वरिपरी स्थानीय प्रहरीसँगै आतंकबाद हेर्ने नेपाल प्रहरीको विशेष ब्युरोसँगै सशस्त्र र राष्ट्रिय अनुसन्धान विमागका जनशक्ति खटिएका थिए। विशेष कार्यदलमा एक टोली बोलावट आएसँगै तत्काल खटिनसक्ने गरी तयारी अवस्थामा थियो।

यो सतर्कताको उद्देश्य इद उल फित्रमा प्रार्थनाका लागि मस्जिद आउने सर्वसाधारणको आवातजावत सहज बनाउने त थियो नै, अन्तर्राष्ट्रिय आतंकबादी आक्रमणको बढ्दो त्रासलाई लिएर सतर्कता पनि थियो। चारै कुनामा प्रहरीसँगै ब्इुरो र विभागका कर्मचारी खटिएका थिए।

युरोप, अमेरिका लगायत क्षेत्रलाई हायलकायल पारे पनि नेपालमा आतंकबादी संगठहरु आईएस र अलकायदाको प्रत्यक्ष प्रभाव देखिएको छैन। तर, इदको समयमा साउदी अरबको मदिनामा रहेको मस्जिददेखि इराक र बंगलादेशका मस्जिद लक्षित आक्रमणका घटना भएपछि नेपालका सुरक्षा संगठन झस्किए।

काठमाडौंसँगै नेपालगन्ज, वीरगन्जलगायत मूख्य सहरका मस्जिदहरुमा बिहीबार गरिएको सुरक्षा प्रबन्ध त्यही झस्काइको परिणाम हो।