मुलुकमा राजनीतिक स्थिरता कायम गर्नुपर्ने – नेता भट्टराई

विराटनगर, २४ असार – नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले हाल मुलुकमा देखिएका असन्तुष्टिलाई सम्बोधन गरेर मात्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग आज कुराकानी गर्दै संयोजक डा भट्टराईले मधेसी र थारुले उठाएका सीमाङ्कनको मागलाई समाधान गरेर मुलुकमा राजनीतिक स्थिरता कायम भएपछि निर्वाचन गराउन सुझाव दिनुभयो ।

संविधान संशोधन गरेर मधेसको समस्या समाधान गर्नुपर्ने विषयमा जोड दिँदै उहाँले संविधानसभाबाट संविधान जारी भइसकेको अवस्थामा अब संविधानको पुनःलेखन असम्भव रहेको स्पष्ट पार्नुभयो ।

मधेसको समस्या समाधान नगरी स्थानीय निकाय, प्रादेशिक र सङ्घीय संसद्को निर्वाचन हुन नसक्ने भएकाले संविधान संशोधन गरी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संयोजक डा भट्टराईले मुलुकमा राजनीतिक स्थिरता कायम नभएसम्म विकास निर्माण र आर्थिक समृद्धि सम्भव नभएको बताउँदै उहाँले शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक रहेको विचार प्रकट गर्नुभयो ।