अस्पतालभित्र अनशन नबस्न डा केसीलाई आग्रह

असार २४, काठमाडौं – त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्वडिन र प्राध्यापकहरूले प्रा.डा. गोविन्द केसीलाई आइओएम हातामा अनशन नबस्न आग्रह गरेका छन्। केसीले आइतबारदेखि आमरण अनशन बस्ने घोषणा गरेका छन्।

 

आइओएमका पूर्वडिन प्रा.डा.अरुण सायमी, प्रा.डा. रामप्रसाद उप्रेती, प्रा.डा. ऋतुप्रसाद गड्तौला, प्रा.डा. रतिन्द्र श्रेष्ठ, प्रा.डा. शशी शर्मा र प्रा.डा. कृष्णकुमार वलीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै अनशन बसेर अस्पताल र क्याम्पसलाई बन्धक नबनाउन केसीलाई आग्रह गरेका छन्।

 

आफूहरू चार दशकदेखि महाराजगन्ज मेडिकल क्याम्पसमा क्रियाशील रहेको, मन, बचन र कर्मले क्याम्पसमा समाहित भएको भन्दै उनीहरुले संस्थालाई कसैले बन्धक बनाउन नपाउने उल्लेख गरेका छन् । डा.केसीले पटक–पटक आइओएम हातामा अनशन बसी अस्पताल र क्याम्पसलाई बन्धक बनाएको उनीहरुको आरोप छ।

 

‘संस्थाको हितको आडका शब्दमा फेरि पनि संस्थालाई बन्धक बनाउने प्रपन्च भइरहेको सुनिन आएको छ,’ वक्तव्यमा भनिएको छ,‘अनशनबाट केसी र अरूले कति लाभ लिनुभयो, त्यो जानकारी छैन, तर पटक–पटकको अनशनले शिक्षण अस्पताल र मेडिकल कलेज जीर्ण पार्ने काम भएको सत्य हो।’

 

पूर्वडिनहरूको समूहले डाकेसीलाई आइओएम हातामा अनशन बस्न नदिन सरोकारवाला निकायलाई ज्ञापनपत्र समेत बुझाएको छ।

 

अस्पताल हाता अत्यावश्यकीय क्षेत्र भएको र सर्वोच्च अदालतले पनि अस्पताल क्षेत्रमा बन्द–हडताल, अनशनजस्ता गतिविधि गर्न नपाउने भन्दै परमादेश दिइसकेको अवस्थामा डा.केसीलाई आइओएम हातामा अनसन बस्न नदिन ज्ञापनपत्र बुझाएका हुन्।

 

उनीहरूले त्रिवि उपकुलपति, आइओएम डिन, शिक्षण अस्पताल कार्यकारी निर्देशक, जिल्ला प्रशासन काठमाडौंमा पत्र बुझाएका हुन्।