सरकार परिवर्तनबारे नेकपा माओवादी केन्द्रमा चार धार

असार २३,काठमाडौं  – राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि औपचारिक निर्णय गरेको नेकपा माओवादी केन्द्र वर्तमान सरकार छाड्ने÷नछाड्ने विषयमा भने आन्योलमा परेको छ।
यो सरकार ढाल्ने कि नढाल्ने विषयमा पार्टीभित्र चार धार उत्पन्न भएपछि माओवादी केन्द्रले तत्काल कुनै निर्णय लिन नसकेको हो। भर्खरै मात्र पार्टी एकताबाट आउने नेताहरुले सरकार परिवर्तनको विषयलाई खासै चासो दिएका छैनन्।

आफूहरु भर्खर एकता प्रक्रियामा आएकाले यो विषयमा धेरै नबुझेकेको प्रतिक्रिया दिएर सरकार फेर्ने, नफेर्ने विषयको बहसमा उनीहरु सामेल हुन नचाहेको देखिएको छ। पार्टी संगठन निर्माणमा निक्कै चिन्तित देखिएका उनीहरुले राष्ट्रिय सहमति कायम गरेर संविधानका राम्रा पक्ष, शान्ति प्रक्रियाको बाँकी काम तथा मधेस आन्दोलनलगायत हल हुनुपर्ने पक्षमा बढी जोड दिएका छन्।

यसअघि सरकार परिवर्तन गर्न हुन्न भनेर कडारुपमा प्रस्तुत भएका नारायणकाजी श्रेष्ठ समूहले भने अहिले कुनै निष्कर्ष निकालिसकेको छैन। सरकार नढल्दा सत्ता साझेदार दल नेकपा एमालेले सहमति कार्यान्वयन नगरेको आरोप लाग्ने र ढाल्दा आगामी सरकार कुन आधारमा बनाउने र अर्को सरकार कसरी बनाउने भनेर निष्कर्षमा नपुग्दा उसले क्लियर भिजन दिन सकेको छैन।