‘बाढी, पहिरोबाट हुने क्षति रोक्न विशेष योजना ल्याइने’

काठमाडौँ, २२ असार – सिँचाइमन्त्री उमेशकुमार यादवले प्रत्येक वर्ष वर्षायाममा बाढी पहिरोबाट हुने धनजनको क्षति रोक्न मन्त्रायलले विशेष योजना ल्याउन लागेको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत सिँचाइ मन्त्रालयका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले बाढी तथा पहिरो रोक्न जनताको तटबन्ध कार्यक्रमलाई निरन्तरता दिँदै यसै आवदेखि २४ वटा नदीमा तटबन्धको कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनु भयो ।

सदरमुकाम बचाऊ कार्यक्रमअन्तर्गत बेनी बजारलगायत सदरमुकाम बचाउनका लागि रकम विनियोजन भइसकेको बताउँदै मन्त्री यादवले डडेल्धुराको रङ्गुनलगायत नदीमा राष्ट्रपति चुरे तराई मधेस संरक्षणअन्तर्गत नदी नियन्त्रणको काम भइरहेको उल्लेख गर्नु भयो ।

कृषियोग्य भूमिमा भरपर्दो रुपमा सिँचाइ सुविधा पु¥याउन भेरी–बबई, सुनकोसी–कमला, कालीगण्डकी–तिनाउ नदीबाट कम पानी भएका जलाधारमा पानी ‘डाइभर्सन’ गर्न विशेष जोड दिइएको उल्लेख गर्दै उहाँले मध्य तराई तथा मधेसका करिब एक लाख २२ हजार हेक्टर कृषियोग्य भूमिमा भरपर्दो सिँचाइ सेवाका लागि सुनकोसी–मरिन डाइभर्सन आयोजनाको विस्तृत अध्ययन गर्ने कार्य सम्पन्न भएको बताउनुभयो ।