विषाक्त च्याउ खाँदा परिवारै गुमाए, दाजुबहिनी सहाराविहीन

असार २१, पाँचथर– मुस्किलले ज्यान बच्यो, तर घर रित्तोयो। आमाबाबु, दिदीबहिनी र दाजुभाइ कोही रहेनन्। अस्पतालबाट निको भएर फर्किंदा घरमा दुई माना चामलबाहेक केही भेटिएन। सम्पत्तिको नाममा दुई गरा जमिन र त्यसैमा बनेको एउटा झुप्रो घर। दाजु र बहिनीको नासो त्यही मात्र बाँकी रह्यो।

काल्पनिक कथाजस्तो लाग्ने घटना पाँचथरमा जंगली च्याउ खाँदा परिवारै गुमाएका परिवारको कारुणिक बास्तबिकता हो। सदरमुकाम फिदिमदेखि १२ कोस दक्षिणमा पर्ने आङ्ना १ स्थित ८ वर्षीया मुनुशा माङ्लाक र उनका दाजु १६ वर्षीय रामप्रसाद बिचल्लीमा परेका छन्।

गत जेठ १० गते जंगलबाट ल्याएको विषाक्त च्याउ खाँदा परिवारै बिरामी परे। विषाक्त च्याउले आमा, बाबु, दिदी र बहिनी गुमाए उनीहरुले। बिरामी परेकामध्ये ४५ वर्षीया आमा पद्ममाया, ४७ वर्षीय बाबु वीरेन्द्र, मनुसाकी दिदी १३ वर्षीया कविता, बहिनी ५ वर्षीया सोनिका र बडीआमा ३९ वर्षीया मनकुमारीसहित एकै परिवारका ५ जनाको ज्यान गयो।

विगतमा पनि खाँदै गरेकाले मुनुसा, ठूलोबुबाका छोराहरू सगुन र संगम माङ्लाकले नजिकै बारीमा उम्रेको च्याउ टिपेर ल्याएका थिए।