स्कुल जान घरबाट निस्किएका बालक १८ दिनदेखि बेपत्ता

असार २०, गोठलापानी  –

बैतडीको पाटन नगरपालिका–१० धनचुलीका बेपत्ता एक बालक १८ दिनसम्म पनि भेटिएका छैनन्।

स्थानीय दुर्गास्थान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालक सुनिल चन्द १८ दिनदेखि बेपत्ता भएका छन्।
असार ३ गते बिहानै घरबाट स्कुल जान्छु भनी निस्किएका चन्द अहिलेसम्म सम्पर्कमा नआएको बेपत्ता बालकका बुबा हर्कबहादुर चन्दले जानकारी दिए।
असार ३ गते शुक्रबार बिहान घरबाट स्कुल जान्छु भनी हिँडेको हो उनले भने,‘अहिलेसम्म सम्पर्कमा आएको छैन, आफन्त, नातागोतालगायत सबैतिर खोजी गर्यौँ तर केही पत्तो लागेन।’
‘भारततिर गयो भन्ने सुनेका छौँ,’उनले दुखेसो पोखे,‘कतै दलालको हातमा पर्यो कि भन्ने चिन्ता लागेको छ।’ बेपत्ता छोराको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय बैतडीमा निवेदन दिए तापनि अहिलेसम्म केही पत्ता लाग्न नसकेको उनले बताए।
बेपत्ता बनेका आफ्ना छोराको खोजी गरिदिन उनले सबैसँग आग्रह गरेका छन्। भारत गएको आशङ्कामा भारतका विभिन्न सहरमा पनि खोजी गर्नुका साथै भारतमा बालबालिका उद्घार गर्ने संस्थासँग समन्वय गरी खोजी कार्य जारी राखेको बेपत्ता बालकका मामा देवबहादुर चन्दले बताए।
गहुँगोरो वर्ण, पाँच फिट उचाइ, खैरो कपाल भएका, रातो हाप टिसर्ट र जिन्स पाइन्ट, चप्पल लगाएको बालकको हुलिया रहेको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले बेपत्ता बालकको हुलियासहित खोजी कार्य जारी राखिएको बताए। बैतडी जिल्ला भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सिमानाका झुलाघाट र भारतीय प्रहरीसँग समन्वय गरी बेपत्ता बालकको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पछिल्लो समय बैतडीमा बालक बेपत्ता हुने क्रम बढ्दै गइरहेको छ। रासस