गाउँ छोड्न चाहन्छन् केरौंजावासी

गोरखा, १७ असार – केरौंजावासीका सर्वमान्य अभिभावक हुन्, सुकबहादुर गुरुङ । पूर्वगाविस अध्यक्ष रहेका उनी आफ्नो कामलाई भन्दा समाजको कामलाई प्राथमिकतामा राख्छन् । उनलाई तीनवटा चिन्ताले सताएको छ । एक, गाउँमाथिको पहिरो नियन्त्रण गर्ने, अर्को गाउँमा मोबाइल फोनको टावर राख्ने र गाउँलेलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने ।

भूकम्पले घर ढल्यो । चिराचिरा परेका जमिन पहिरोले लेतियो । तलमाथि दुवैतर्फबाट ठूला पहिरो खसेर गाउँ जोखिममा परेपछि गाउँलेले सुकबहादुरलाई गाउँ छाडेर अन्यत्रै बस्ने व्यवस्थाका लागि पहल गर्न आग्रह गर्दै आएका छन् । सुकबहादुरले सुरक्षित ठाउँ सर्नेबारे पहल नगरेका होइनन् ।

कम्तीमा १० पटक सदरमुकाम आइसकेका उनले प्रजिअलगायत जिल्लाका हाकिमलाई भेटेर आफूहरुलाई सुरक्षित ठाउँमा सार्न आग्रह गरे । तर कसैले काम गरिदिएनन् । गएको बर्खा बित्यो ।

केरौंजावासीले गएको असार १२ गते नै गाउँ छोड्न चाहेका थिए । रानीवनडाँडाबाट झरेको पहिरोले वडा नं ४ को १३७ टहरा बग्यो । विस्थापित भएका वडा नं ४ का पहिरोपीडित वडा नं १ को जग्गामा शिविर बनाएर बस्न थाले । गत वर्षको असार ११ र भदौ ५ गतेको पहिरोले गाउँलेको विचल्ली बनायो । भूकम्पले घरबारविहीन भएका उनीहरुलाई पहिरोले थप पीडा दिए पनि जिल्ला दैवीप्रकोप उद्धार समिति, स्थानीय प्रशासनले केरौंजावासीलाई सुरक्षित ठाउँमा सार्न चासो दिएनन् । सुकबहादुर एक्लैले गाउँलेलाई अन्यत्र सार्न सक्दैनथे ।

पहिरोपीडित केरौंजावासीलाई आरुचनौटे गाविसको मङ्गलटार स्थानान्तरण गर्ने हल्ला चलेको थियो । समय घर्कियो, केरौंजावासीले हिउँद काटे । भूकम्पपीडितलाई सहयोग गर्न सरकारले के कस्ता कार्यक्रम ल्याएको भन्नेबारे समयमै खबर पाउँदैनन्, केरौंजावासी । घाम लागेको दिन मात्रै काशीगाउँको टावर चल्छ । गाउँका गन्यमान्यले थाह पाएका नयाँ खबर सुनाउने एकमात्र माध्यम गाउँका कटुवाल हुन् । गाउँमा खबर सुनाउने काम वडा नं २ का खिम घले र ४ का भीम गुरुङले गर्छन् । उनीहरु कटुवाल हुन् ।

सुकबहादुरले गाउँमा मोबाइलको टावर राख्न तीन पटकसम्म टेलिकमको गोरखा शाखामा निवेदन दिए तर काम भएन ।

“तीन दिन लगाएर सदरमुकाम पुगेँ । गाउँलेको समस्या हाकिमहरुलाई सुनाएँँ, सुकबहादुरले भने–“पहिरोले गाउँ लग्छ, सार्नुप¥यो भनेर १० पटक सिडियोलाई भनेँ । टावर राख्नुप¥यो भनेर तीन पटक टेलिकमको हाकिमलाई निवेदन दिएँ । पहिरो नियन्त्रण गर्न जिविसमा तारजाली मागेँ । हाकिमहरुले हाम्रो समस्या सुनेनन्, काम गरेनन् । हामीले दुःख पायौँ ।”

चारैतिर पहिरो झरेपछि केरौंजाबासी त्रासमा छन् । रातमा निदाउन सकेका छैनन् । दिउँसो कोदो रोप्न जान सक्दैनन् । बारीमा पहिरो जान्छ कि भन्ने त्रास छ । पहिरोले टहरो पुरेपछि विस्थापित भएका वडा नं ४ का काजी गुरुङले भने – “भूगर्भविद्ले पहिरोमुनिको बस्तीमा नबस्नु भनेका थिए । हामी बसिरहेका छौँ, अन्यत्र कहाँ जाने ? अरुको जग्गामा बस्न दिँदैनन् ।” पहिरोले वडा नं ३ को बुवाङ गाउँ पनि जोखिममा परेको छ । यहाँका ३२ वटा टहरा पहिरोको उच्च जोखिममा छन् । पानी पर्न सुरु गरेपछि टहरा छाडेर मानिसहरु जङ्गल बस्न जान्छन् ।

वडा नं १, २ र ४ को गाउँ एकै ठाउँमा छ । गाउँमाथि रानीवनडाँडाबाट बुधबार झरेको पहिरोले १३ परिवार विस्थापित भए । ५५७ घरधुरीका भूकम्पपीडितका अस्थायी शिविर पहिरोको जोखिममा छन् ।

पहिरोको बीच भागमा पानीको ठूलो मूल फुटेपछि ढुङ्गासहितको लेदो माटोले भूकम्पपीडितका टहरा पुरेको हो । यस्तै केरौंजा वडा नं ३ को केरौंजाबेँसीमा पनि पहिरो झरेको छ ।

पुछारगाउँ, विकटोल पहिरोको जोखिममा छन् । वडा नं ५ को रुन्चेतमा २५२ टहरा, ७, ८ र ९ को हुल्चोकमा २७० ओटा टहरा पहिरोको जोखिममा रहेको छ । सिङ्गो गाउँ नै पहिरोको जोखिममा परेपछि गाउँले अन्यत्रै सुरक्षित ठाउँमा सर्न चाहेका हुन् ।

पहिरोले केरौंजा माध्यमिक विद्यालय, स्वास्थ्य चौकी, गाविस भवन, अस्थायी सामूहिक आवास भवनलगायत संरचनामा पनि जोखिममा छ । डाँडाबाट झरेको ढुङ्गाले सामूहिक आवासमा क्षति पुगेको सुकबहादुर बताउँछन् ।

निजी आवास निर्माणका लागि गाउँलेले अनुदान सम्झौता गरिसकेका छन् । अनुदान बुझेपछि घर कहाँ बनाउने ? उनीहरुलाई अर्को चिन्ताले सताउँछ । केरौंजा–४ का मनबहादुर गुरुङ भन्छन् – “पहिरोमुनि घर बनाएर कसरी निदाउने ? अन्यत्र बनाउँ भने आफ्नो नाउँमा जग्गा छैन अर्काले त्यसै दिँदैन, किन्न पैसा छैन ।”

भूकम्पले घर र आगलागीले टहरो जलेको केरौंजा–४ की आशमाया घलेको हालै बनाएको नयाँ टहरो पनि पहिरोको जोखिममा परेको छ । कमलपित्त (जन्डिस) रोगले थला परेकी उनी बसोबासका लागि छिमेकीको शरणमा छिन् ।

पहिरोबाट विस्थापित भएका आइतमाया गुरुङ, राममाया गुरुङ, टेकबहादुर गुरुङले स्वास्थ्य चौकी भवन माथिल्लो क्षेत्रमा नयाँ टहरा निर्माण सुरु गरेका छन् । पिपुल इन निड (पिन) नामक संस्थाले टहरो छाउने त्रिपाल र किलाकाँटी, धन, सावेल, गललगायत औजार दिएको छ ।

पहिरोको चपेटामा परेका केरौंजावासीलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले राहत उपलब्ध गराउन सकेको छैन । हेलिकप्टर चढेर पहिरोपीडित जनता भेटेर फर्केका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सुरक्षित ठाउँ खोजी गरेर बस्न पहिरोपीडितलाई आग्रह गरेको बताए ।

उनले भने– “केरौंजावासीलाई अन्यत्रै सार्नुपर्ने अवस्था छ । तर तत्कालै सार्न सम्भव छैन । सुरक्षित ठाउँमा टहरो बनाएर बस्नुहोस् भनेका छौँ ।” केरौंजावासीलाई सहयोग गर्न पिपुल इन निड, अक्सफाम, फेज नेपाललगायत सङ्घसंस्थाले गाउँमै कार्यालय सञ्चालन गरेर बसे पनि खासै सहयोग गरेका छैनन् । पीडित भजाएर बजेट सक्ने काम भएकामा वास्तविक पीडितहरु दुःखी छन् ।