नाकाबन्दी पछि तंग्रिनै सकेन वीरगञ्ज

असार १७ ,काठमाडौं –तराई–मधेसका सात भन्सार कार्यालयलाई राजस्व लक्ष्य पूरा गर्न कठिन भएको छ। मधेस आन्दोलनका कारण करिब पाँच महिना आयात–निर्यात ठप्प भएकाले नाकाबन्दीपछि पनि भन्सार कार्यालय तंग्रिन सकेका छैनन्।

राजविराज, सिरहा, जनकपुर, जलेश्वर, सर्लाही, गौर र वीरगन्ज भन्सार कार्यालयले जेठसम्मका लागि तोकिएको लक्ष्य हासिल गर्न नसकेका हुन्। यसबाट भन्सारतर्फको कुल राजस्व लक्ष्यमा करिब १४ अर्ब ६२ करोड रुपैयाँ कम असुली भएको भन्सार विभागले जनाएको छ।

मेची, विराटनगर, भैरहवा, कृष्णनगर, नेपालगन्जलगायतका भन्सार कार्यालयबाट हुने आयात–निर्यातको आकार बढेको भन्सार विभागका प्रवक्ता सूर्यप्रसाद सेढाईंले बताए।

भैरहवा भन्सार कार्यालयले जेठसम्ममा ५३ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत आवको सोही अवधिमा २३ अर्ब ५९ करोड रुपैयाा मात्रै असुल भएको थियो। विराटनगरले गत आर्थिक वर्षको जेठसम्ममा १६ अर्ब १८ करोड असुल गरेकोमा यस वर्ष २३ अर्ब १८ करोड असुल गरेको छ।

प्रमुख दलहरू मधेस आन्दोलनको केन्द्र २ नम्बर प्रदेशमा कार्यक्रम लिएर पुगेका छैनन्। सबैभन्दा ठूलो दल कांग्रेसले महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न गाउँगाउँमा अधिवेशन त गर्‍यो, तर मधेस आन्दोलन र संविधान बुझाउने कार्यक्रम लैजान सकेको छैन।

सिरहा, धनुषा, महोत्तरी र पर्सामा अझै जिल्ला अधिवेशनसमेत गर्न सकेको छैन। मधेसलाई सम्बोधन गर्नेगरी ठूला दलहरू अझै नपुगेको केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले बताए।