अमेरिका र अस्ट्रेलिया हिँडेका १६ नेपालीको उद्धार

असार १३ , काठमाडौं – अवैध बाटो प्रयोग गरी अमेरिका र अस्ट्रेलिया जान लागेका १६ नेपालीलाई माइक्रोनेसियाबाट उद्धार गरिएको छ। उनीहरूलाई शनिबार मलेसियास्थित नेपाली दूतावासले उद्धार गरेको हो। फिलिपिन्सदेखि पूर्व प्रशान्त महासागर क्षेत्रमा अवस्थित टापुहरूको राज्य माइक्रोनेसियाले १६ नेपालीलाई पक्राउ गरेको थियो। क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार उद्धार गरिएका १६ मध्ये सातलाई नेपाल फर्काइएको र बााँकीलाई फर्काउने तयारी भइरहेको छ।

नेपाली दूतावासले आइतबार जारी गरेको विज्ञप्तिअनुसार उनीहरूलाई विदेशी तथा नेपाली मानवतस्करले अमेरिका तथा अस्ट्रेलिया पठाइदिन्छु भनेर मलेसिया र इन्डोनेसिया हुँदै डुंगाबाट माइक्रोनेसिया पुर्याएका थिए। उनीहरू कागजातविहीन अवस्थामा थिए।

नेपाल फर्किएकाहरूमा पाल्पाका वसन्तबहादुर दर्लामी, चितवनका प्रवीन लामा, मकवानपुरका सोमबहादुर लामा थिङ, इलामका सञ्जीव राई, चितवनका स्याम्युल तामाङ, धनुषाका अमितकुमार साह र चितवनका जयराम वाइबा छन्।