कम गुणस्तरको सुन बेच्ने छ व्यवसायीविरुद्ध मुद्दा दर्ता

चितवन, ८ असार – कम गुणस्तरको सुनचाँदी बिक्री गरेको आरोपमा नारायणगढका छ वटा सुनचाँदी पसलका सञ्चालकविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय चितवनले मुद्दा दर्ता गरेको हो ।

बराली गहना सप्लायर्सका सञ्चालक प्रवीन्द्र वराली, जीवनज्योति ज्वेलर्सका सञ्चालक जीवनज्योति विश्वकर्मा, जय सन्तोषीमाँ सोरुमका सञ्चालक विपेन्द्र रामुदामु, माँ जानकी ज्वेलर्सका सञ्चालक विकी शाहसोनी, जगदम्बा सुनचाँदी पसलका सञ्चालक चन्दनप्रसाद सर्राफ र लोकमान एण्ड सन्सका सञ्चालक ज्ञानेन्द्रमान शाक्यविरुद्ध मुद्दा दर्ता गरिएको घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख गङ्गाधर पौडेलले बताउनुभयो ।

उनीहरुमाथि उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा १८ ‘क’ र ‘घ’बमोजिम सजायको माग दाबी गरिएको छ । दोषी ठहरिए उनीहरुलाई अधिकतम सजाय पाँच वर्षसम्म कैद वा रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।

विसं २०७० साल असोज २० गते नेपाल गुणस्तर तथा नापतौल विभाग बालाजु, वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग ववरमहल, जिल्ला प्रशासन कार्यालय चितवन र स्थानीय उपभोक्तावादी संस्थाका प्रतिनिधिले नारायणगढको जय सन्तोषी माँ सुनचाँदी सोरुम, बराली गहना सप्लायर्स, जगदम्बा सुनचाँदी पसल, माँ जानकी ज्वेलर्स, जीवनज्योति ज्वेलर्स र न्यू लोकमान एण्ड सन्समा अनुगमन गर्दा सुन र चाँदी कम गुणस्तरको भेटिएको थियो ।

जय सन्तोषी माँ मा सुनको सिक्री २४ क्यारेटको ९९ दशमलव ५ प्रतिशत घोषित शुद्धता भनी बिक्री गरिएकामा ९८ प्रतिशत र ९० प्रतिशत शुद्धता घोषणा गरी बिक्री गरिएको चाँदीमा ७७ दशमलव ५१ प्रतिशत शुद्धता भेटिएको थियो । बरालीमा सुनको बक्स औँठी ९९ दशमलव ५ प्रतिशत शुद्धता भनिएकामा ९७ दशमलव ५६ प्रतिशत र जगदम्बामा ९९ दशमलव ५ प्रतिशत शुद्धता भनी बिक्री गरिएको सुनको मङ्गलसुत्रमा ९४ दशमलव ९ प्रतिशत शुद्धता पाइएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

यसैगरी माँ जानकी ज्वेलर्समा सुनको झुम्का ९९ दशमलव ५ प्रतिशत शुद्धता भनी बिक्री गरिएकामा ९३ दशमलव ६६ प्रतिशत, जीवनज्योति ज्वेलरीले ९९ दशमलव ५ प्रतिशत शुद्धता भनी बिक्री गरेको सुनको चोकर ९३ दशमलव ६३ प्रतिशत र न्यू लोकमान एण्ड सन्सको ९१ दशमलव ६६ प्रतिशत शुद्धता भनी बिक्री गरिएको सुनको सिक्रीमा ९१ दशमलव २१ प्रतिशत शुद्धता पाइएपछि विभागले कारवाही प्रक्रिया अगाडि बढाएको हो ।

सुनचाँदी कम गुणस्तर भएको भन्दै जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरिएको यो पहिलो हो । जिल्लामा ३०० सुनचाँदी पसल रहेका छन् । यसमध्ये नारायणगढमा मात्र १५४ वटा रहेका छन् ।