इजरायली चलचित्र महोत्सव आजदेखि सुरु

काठमाडौँ, ८ असार – दसौँ इजरायली चलचित्र महोत्सव आजदेखि रुसी सांस्कृतिक केन्द्रमा सुरु भएको छ । इजरायलको ६८औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजना गर्न लागिएको दुईदिने महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले उद्घाटन गर्नुभयो । नेपाल फिल्म सोसाइटी र इजरायली राजदूतावासको आयोजनामा भएको महोत्सवमा इजरायलमा राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ चलचित्र प्रदर्शन गरिनेछ ।

प्रदर्शनीमा आउने चलचित्रमा ‘फिल द भ्वाइड’ (खालीपन भर), ‘ब्यान्डस् भिजिट’ (ब्यान्डको भ्रमण), ‘फरेन सिस्टर’ (विदेशी चेली) र ‘द डिस्ट्यान्स्’ (दूरी) तथा वृत्तचित्रमा ‘डल्फिन ब्वाइ’ (डल्फिन केटो) र ‘गोर्खाज डटर इन इजरायल’ (इजरायलमा गोर्खालीकी छोरी) छन् । जसमध्ये आज रुढिवादी परम्परामा जगडिएकी एक १८ वर्षीया युवतीको कथामा आधारित चलचित्र ‘फिल द भ्वाइड’ (खालीपन भर) प्रदर्शन गरियो ।

उद्घाटन कार्यक्रममा नेपालका लागि इजरायली राजदूत यारोन माएरले इजरायलका उत्कृष्ट चलचित्र छनोट गरेर नेपालमा प्रदर्शन गरिएको जानकारी दिँदै आप्रवासीको देश इजरायलका जनताले दैनिक जीवनमा भोगेका व्यक्तिगत, धार्मिक र सामाजिक मुद्दालाई चलचित्रमा समेटिएको बताउनुभयो ।

नेपाल फिल्म सोसाइटीका अध्यक्ष तथा कलाकार कृष्ण मल्लले नेपालभन्दा सानो देश र सानो बजार भएको इजरायलको चलचित्र उद्योगमा सरकारले गरेको पर्याप्त लगानीका कारण त्यहाँस्तरीय चलचित्र बन्ने गरेको उदाहरण दिँदै नेपालले पनि त्यसबाट सिक्नुपर्ने बताउनुभयो ।

‘गोर्खाज डटर इन इजरायल’ इजरायलमा काम गर्ने नेपाली दिदीबहिनीका बारेमा नेपाली निर्देशक राजु भण्डारीले निर्माण गरेको वृत्तचित्र हो । इजरायलमा रोजगारीका लागि जानुअघि यो चलचित्र हेरेमा फाइदा हुने बताइएको छ ।