प्रधानमन्त्रीको दाँत जाँच्ने डाक्टर नक्कली

 

असार ८, काठमाडौं – कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटलका अध्यक्ष, अनि एमालेका स्वास्थ्य विभाग सदस्य बुद्धिमान श्रेष्ठ नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा पेसा अंगालेका अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा छन । एमाले निकट चिकित्सकका रूपमा परिचित उनले प्रधानमन्त्रीसँग आफ्नो सामिप्य पुष्टी गर्न पुस र फागुनमा बालुवाटारमै गएर ओलीको दाँतको उपचार गरेका थिए।
पहिलो पटक पुस १८ मा श्रेष्ठ मोबाइल डेन्टल भ्यान र चिकित्सकको टोली लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।श्रेष्ठको नेतृत्वमा अत्याधुनिक मोबाइल डेन्टल भ्यानसहित पुगेको चिकित्सकको टोलीले बिहान १० देखि १२ बजेसम्म ओलीको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो।
अस्पतालले प्रकाशनका लागि पठाएको विवरणमा उल्लेख भएअनुसार परीक्षणमा संलग्न चिकित्सकले प्रधानमन्त्री ओलीको माथिल्लो भागको दायाँपट्टिको २ वटा बंगाराको एक्सरे गर्दा ४ वटा बंगारा किराले खाएको निष्कर्ष निकाल्यो।
श्रेष्ठसहितको चिकित्सक टोलीले तीमध्ये एक बंगारा निकाल्नै पर्ने अवस्थामा पुगेको निष्कर्ष निकाले पनि प्रधानमन्त्रीको समय नमिलेकाले तत्काल निकालिएन। दाँत सफा गरे, अनि माथिपट्टिको दाहिने बंगारा र तलपट्टिको देब्रे बंगारामा फिलिङ गरेर टोली फर्कियो।
श्रेष्ठ नेतृत्वकै टोली पुनस् फागुन १९ मा प्रधानमन्त्री निवास बालुवाटार पुगेर दाँतको उपचार गर्‍यो। ओलीको तल्लो भागको दाँत धारिलो हुँदा जिब्रोमा घाउ हुन थालेपछि प्रधानमन्त्रीका सहयोगीले श्रेष्ठलाई बोलाएका थिए।
दोस्रो पटकको परीक्षामा पनि ओलीको माथिल्लो भागको दोस्रो र तेस्रो बंगारा निकाल्नैपर्ने अवस्थामा रहेको निष्कर्ष निकालियो। बंगारा निकाल्न प्रधानमन्त्री इच्छुक नदेखिएपछि धारिलो भाग मुठारेर तल्लो भागको देब्रेपट्टिको बंगारामा स्थायी फिलिङ र दायाँतर्फ माथिपट्टिको दुई बंगारामा अस्थायी फिलिङ गरेर टोली फर्कियो।
श्रेष्ठबाट दाँत उपचारको सुविधा लिने अर्का परिचित हुन् प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल। श्रेष्ठले अर्यालकी पत्नीको दाँतको उपचार गर्दै आएका थिए। तिनै श्रेष्ठ आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा आफूलाई चिकित्सकका रूपमा परिचय दिएर ठगी गरेको अभियोगमा अहिले ब्युरोको हिरासतमा छन्।