संविधान कार्यान्वयन कार्ययोजना सकारात्मक – एमाले

काठमाडौँ, ४ असार – नेकपा (एमाले)ले सरकारले ल्याएको संविधान कार्यान्वयन कार्ययोजना सकारात्मक रहेको ठहर गर्दै त्यसमा दृढतापूर्वक अघि बढ्न सरकारलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको स्थायी कमिटीको बैठकले विभिन्न तहको निर्वाचन गर्ने, आवश्यक कानुन संशोधन र आयोग गठनजस्ता सरकारले ल्याएको कार्ययोजना कार्यान्वयन हुनुपर्नेमा जोड दिएको हो ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले सो कार्ययोजना पारित गरेको थियो ।
एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले आन्दोलनरत मधेसी दलसँगको वार्ता निर्णायक बनाई तथा प्रमुख प्रतिपक्षीसँग सहमतिको वातावरण तयार गरी कार्यायोजना कार्यान्वयन गराउन सरकारलाई आग्रह गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘‘निर्वाचनलाई टार्न खोजेर संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्रलाई सरकारले चिर्नुपर्छ, त्यसका लागि स्थानीय निकाय पुनःसंरचना आयोगलाई आफ्नो प्रतिवेदन चाँडो बुझाउन भन्न सकिन्छ ।’’

उहाँले नयाँ संविधानमा भएको व्यवस्था बमोजिम स्थानीय निकायको निर्वाचन हुनुपर्ने पनि बताउनुभयो ।

बैठकमा व्यवस्थापिका–संसद्को कार्यसञ्चालन नियमावली संशोधनका विषयमा नेपाली काँग्रेससँग भएका वार्ताबारे अवगत गराइएको थियो । यस्तै, पार्टीको प्रदेश कमिटी गठनबारे असार ६ गते हुने बैठकमा छलफल हुनेछ ।