२८ वर्षपछि हात्ती काज फिर्ता

असार ४ ,काठमाडौं –कोसी टप्पु वन्यजन्तु आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा काज सरुवा भएका दमदमकली र सरस्वतीकली २८ वर्षपछि पुरानै घर फिर्ता आएका छन्। आरक्षले भदौमा हात्ती फर्काउन वन्यजन्तु विभागलाई पत्र पठाएको थियो।

चितवनबाट दुईटा ट्रकमा हालेर २४ घण्टाको लामो यात्रापछि दुवै हात्ती कोसी पुगेका हुन्। आरक्षमा शोभाकली, अम्बिकाकली र लक्ष्मीकलीसँगै अब चितवनबाट थपिएका सहित ५ हात्तीको बास हुने भएको छ।

अरु तीनवटा हात्ती काज फिर्ता हुन बाँकी छन्। चितवनमा हात्ती चढेर जंगल सफारी गर्ने पर्यटक बढेपछि २०४५ मा ती शात्ती चितवन लगिएको आरक्ष प्रशासनले जनाएको छ।

आरक्षको क्षेत्र विस्तार र सुरक्षाका लागि ती हात्ती पनि पूर्वाधार तयार गरेर फर्काइने आरक्षले जनाएको छ ।