बाह्र वर्षदेखि फरार अभियुक्त पक्राउ

इलाम, २ असार । बाह्र वर्ष अगाडि कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएपछि फरार रहेका एक व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट गएको गस्ती टोलीले इलाम आमचोक–५ का मनबहादुर राईलाई पक्राउ गरेको प्रहरी निरीक्षक अमरबहादुर निरौलाले जानकारी दिनुभयो ।

उनलाई २०६१ साल फागुन २४ गते जिल्ला अदालत इलामले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । पक्राउ परेका राईलाई जिल्ला अदालतमा उपस्थित गराई कारागार पठाइने प्रहरीले जनाएको छ ।