पूर्णता पाएसँगै एमालेका विभाग सक्रिय

काठमाडाँै, ३२ जेठ – नेकपा (एमाले)का विभागले पूर्णता पाएसँगै काम थालेका छन् । विभागले पूर्णता पाएसँगै धमाधम बैठक र कार्ययोजना बनाउन थालेका सचिव योगेश भट्टराईले जानकारी गराउनुभयो ।

उहाँका अनुसार अहिले पार्टी कार्यालयमा प्रत्येक दिन फरक फरक विभागको बैठक बस्ने गरेको छ । “विभाग गठन भएदेखि सबैले बैठक राख्न थालेका छन्”, उहाँले भन्नुभयो, “बैठकले सचिव छान्नेदेखि आ–आफ्ना कार्ययोजना बनाउन थालेका छन् ।”

एमालेका ३१ विभागले केही दिनअघि मात्र दुई वर्षपछि पूर्णता पाएको थियो । विभागमा प्रमुख, उपप्रमुख र सचिवसहित अधिकतम २५ जना सदस्य रहने व्यवस्था छ । प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले अहिलेसम्म आठ विभागले बैठक बसिसकेको बताउनुभयो ।

कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार सोमबार मात्र स्थानीय, सङ्गठन र कृषि विभागको बैठक बसेको थियो ।
उहाँले अहिलेसम्म विदेश, सङ्गठन, कृषि तथा भूमिसुधार र स्कुल विभागले सचिव चयन गरिसकेको बताउनुभयो ।
कृषि तथा भूमिसुधार विभागका प्रमुख ठाकुर गैरेले विभागले पूर्णता पाएपछि बैठक बसी काम थालिएको जानकारी गराउनुभयो ।
एमाले पार्टीको नियमावलीमा विभागका काम, कर्तव्य र अधिकारका बारेमा उल्लेख गरिएको छ । विभागले आफ्ना विभाग अन्तर्गतका नीतिनियमका बारेमा पार्टी केन्द्रीय कमिटीलाई आवश्यक सल्लाह सुझाव दिने गर्दछन् ।