‘पर्यटनलाई सुरक्षित गन्तव्यका रुपमा विकास गरिने’

काठमाडौँ, ३१ जेठ । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिएको पर्यटन क्षेत्रलाई सुरक्षित गन्तव्यका रुपमा विकास गर्न सरकारले विशेष चासो दिएको छ ।

व्यवसायीले सुरक्षा, पूर्वाधार लगायत अभावले पर्यटन क्षेत्रलाई गुणात्मक अभिवृद्धि गर्न नसकेको गुनासो गरिरहेका बेला गृहमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटन क्षेत्रको सुरक्षा र प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

‘गन्तव्य नेपाल न्युज डटकम’को दोस्रो वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “पर्यटकीय गन्तव्य र व्यवसायीको सुरक्षाप्रति सरकार गम्भीर छ, यसका लागि म दृढतापूर्वक लाग्ने प्रतिबद्धता दिलाउँछु ।”
आर्थिक विकास, शान्ति र सुशासनको राष्ट्रिय कार्यभारलाई प्राथमिकताका साथ अघि बढाउन जरुरी भएको उल्लेख गर्दै उहाँले आर्थिक विकासका महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्र विकासको मूल आधार मानिने पर्यटन क्षेत्रको प्रवद्र्धन गरी नेपाललाई विश्वकै आकर्षक गन्तव्य बनाउनेतर्फ सबै जुट्नुपर्ने औँल्याउनुभयो ।

नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापाले पर्यटकीय सम्भावना बोकेका उपल्लो डोल्पा, उपल्लो मुस्ताङ लगायत गन्तव्यमा लगाइएको बन्देज खुल्ला गरी मापदण्ड बनाएर खुला गरिनुपर्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले मुलुकको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासमा सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बढनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पर्यटन व्यवसायी केन्द्रका अध्यक्ष गणेश सिंखडा, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया, नेपाल पत्रकार महासङ्घका पूर्वसभापति विष्णु निष्ठुरी, पत्रकार ऋषि धमला लगायतले पर्यटन क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन सरोकार भएका निकाय गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।