हेपाटाइटिस सीको निःशुल्क उपचार गर्ने तयारी

जेठ ३० ,काठमाडौं–सरकारले ‘हेपाटाइटिस सी का बिरामीको उपचार निःशुल्क गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। यसले गर्दा संक्रमण वा अन्य कारणले कलेजो सुन्निने रोग हेपाटाइटिस सीका बिरामीको समयमै उपचार नपाएर ज्यान जाने क्रम अब रोकिने छ।
समयमै उपचार गरे हेपाटाइटिस सी निको हुने निष्कर्ष निकाल्दै सरकारले निःशुल्क उपचार गर्ने तयारी गरेको हो। यसका लागि स्वास्थ्य मन्त्रालयले सम्बन्धित चिकित्सक र सरोकारवालासँग छलफल गरिरहेको छ।
हेपाटाइटिस सीको उपचारमा एकरूपता ल्याउन र विशेषज्ञ चिकित्सकबाट मात्रै उपचार गराउने पद्धतिको विकास गर्न सरकारले राष्ट्रिय उपचार निर्देशिका पनि आइतबार सार्वजनिक गर्ने भएको छ। यससँगै हेपाटाइटिस सीको उपचार निःशुल्क गर्ने तयारी गरिएको हो।
वीर अस्पतालका कलेजो रोग विशेषज्ञ एवं उक्त निर्देशिका तयार पार्न गठित समितिका सदस्य डा.दिलीप शर्माले हेपाटाइटिस सी भएका बिरामीको निःशुल्क उपचार गर्न सरकारले चिकित्सक, दातृ निकायलगायतसँग छलफल गरिरहेको बताए।
आर्थिक अभावले कयौं बिरामीले समयमै उपचार नपाउँदा हेपाटाइटिस बिग्रिएर कलेजो कडा हुने, क्यान्सर हुनेलगायत समस्या उत्पन्न भएर ज्यान गुमाउने गरेका छन्। कतिपयलाई यसबारे जानकारीसमेत छैन।
सरकारले हेपाटाइटिसको उपचार निःशुल्क गरेमा एक बिरामीको उपचारका लागि एक लाख २० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ। सुषुप्त हत्याराका रूपमा चिनिएको हेपाटाइटिस सीबाट नेपालमा करिब एक लाख ५० हजार मानिस ग्रसित भएको अनुमान छ। हेपाटाइटिसका पाँच प्रकारमध्ये सी सबैभन्दा घातक मानिन्छ।