कर्णालीका आठ गाविसमा चामल शून्य

जेठ ३०, कर्णाली – कर्णालीका चार जिल्लाका आठ गाविसमा सुक्खा पीडित स्थानीय बासिन्दासँग चामल मौजाद शून्य भएको खबर छ।
ठेकेदारहरुले मिलेमतो गरी ढुवानी शुल्क बृद्धि गरिएपछि सरकारले कर्णालीका सुक्खाग्रस्त आठ गाविसमा चामल ढुवानी गर्न नसक्दा स्थानीय बासिन्दासँग चामल सकिएको छ ।
सरकारले समयमा ढुवानी गर्न नसक्दा हुम्लाको श्रीनगर र सर्केघाट, डोल्पाको दुनै, काईगाउँ, लिखु र रर्मी, कालिकोटको थिर्पु र मुगुको पुलु गाविसका बासिन्दासँग चामल सकिएको छ।
गत चैतदेखि ती क्षेत्रमा चामल ढुवानी गर्न नसक्दा स्थानीय बासिन्दा भोकमारीइको चपेटामा परेका छन् । सरकराले गत चैतमा अन्तिम पटक त्यस क्षेत्रमा चामल ढुवानी गरेको थियो ।
आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले ढुवानी शुल्क बृद्धि हुँदा त्यस क्षेत्रमा चामल ढुवानी गर्न नसकेको जानकारी दिए । वर्षे मौसकका कारण देखाउँदै ढुवानी गर्न स्थानीय ठेकेदारले चालू आर्थिक वर्षका लागि स्वीकृत भएको ढुवानी शुल्कमा ढुवानी गर्न नमान्दा आठ गाविसमा चामल पठाउन नसकिएको हो ।