भूकम्पले भत्काएका छवटा पुलको मर्मत

मलेखु (धादिङ), २६ जेठ । भूकम्पले क्षति पारेका उत्तरी धादिङको झर्लाङ, लापा, रि गाविस जोड्ने छवटा पुलको मर्मत गरिएको छ ।

दैनिक रुपमा मानिस आवतजावत गर्ने मुख्य मार्गमा रहेका पुल मर्मत गरिएपछि यातायातको सुविधा नपुगेको गाउँवासी सदरमुकामसम्म आवतजावत गर्नसक्ने भएका छन् । दार्खा र झर्लाङ जोड्ने डुन्डुरेखोला, गजली खोला, सेर्तुङ र झर्लाङ जोड्ने लिस्ने खोला, झर्लाङ र लापा जोड्ने आँखुखोला र डुन्डुरेमूल खोलामाथिका पुलको मर्मत गरिएको हो ।

‘युनाइटेड मिसन टु’ नेपालको साझेदारीमा हिमालय सामुदायिक मुक्ति समाज (हिम्स) नेपालले धादिङ विपद् व्यवस्थापन कार्यक्रमअन्तर्गत रु २५ लाख ५९ हजारको लागतमा ती पुलको मर्मत गरेको हिम्स नेपालका सिलास तामाङले बताउनुभयो ।

पुल मर्मतपछि विकटका पाँच गाविसमा सामान ढुवानी गर्न र स्थानीय बासिन्दा तथा पर्यटकलाई आवतजावत गर्न सुविधा पुगेको छ ।