वर्तमान सरकार खतरामा छ : महामन्त्री कोइराला

खोटाङ, २५ जेठ – नेपाली काँग्रेसका महामन्त्री सशाङ्क कोइरालाले वर्तमान सरकारले चीन र भारतसँगको सम्बन्धमा खलबल ल्याएका कारण राष्ट्रियता खतरामा पारेको बताउनुभएको छ ।

नेपाल तरुण दल खोटाङको चौथो अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले प्रधानमन्त्री ओलीले छिमेकी देशसँगको कायम सम्बन्धमा सन्तुलन बिगारेका कारण राष्ट्रियता खतरामा परेको दाबी गर्नुभयो ।

खतरामा परेको राष्ट्रियताको बचाउ काँग्रेसबाट मात्र सम्भव रहेको महामन्त्री कोइरालाको भनाइ थियो । महामन्त्री कोइरालाले नयाँ संविधान राम्रो भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो ।

कोइरालाले संविधानमा सबै विषय उल्लेख भए पनि आर्थिक समावेशीकरणको सिद्धान्तलाई नसमेटेको बताउनुभयो । महामन्त्री कोइरालाले ‘गुट’ले पार्टी र स्वयम् व्यक्तिलाई सिध्याउने भएकाले ‘गुट’को राजनीति नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले पार्टी सभापति शेरबहादुर देउवालाई अब समूहको आवश्यकता नरहेको उल्लेख गर्नुभयो । “अब शेरबहादुरलाई किन समूह चाहियो, उहाँले पार्टीलाई एक बनाएर नेतृत्व सन्ततिलाई हस्तान्तरण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “गुटले पार्टीलाई सिध्याउँछ, खबरदार तपाइँ पनि गुटबाट नबित्नुस् ।”

केन्द्रीय सदस्य बलबहादुर केसीले संविधान कार्यान्वयनका लागि सहमतिको आवश्यकता औँल्याउनुभयो ।

यस्तै, सांसद रामहरि खतिवडाले वर्षदिन बित्दासमेत भूकम्पपीडितलाई राहत दिन नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । वर्तमान सरकार भाषण गर्ने मात्र भएकाले वर्तमान सरकारबाट संविधान कार्यान्वयन सम्भव नभएको खतिवडाको भनाइ थियो ।