काठमाडौँ उपत्यकाका खानेपानी र सरसफाइ कार्यक्रमबारे छलफल

काठमाडौँ, २३ जेठ – खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव डा सञ्जय शर्माले उपत्यकामा खानेपानी र सरसफाइ सेवा विस्तारका लागि विभिन्न सरकारी निकायबीच गहिरो समन्वयको आवश्यकतामा जोड दिनुभएको छ ।

आज काठमाडौँ उपत्यकाका खानेपानी र सरसफाइ आयोजनाका बारेमा जानकारी लिने क्रममा सचिव शर्माले यो कुरामा जोड दिनुभएको हो ।

सचिव शर्माले मेलम्ची आयोजनाको वितरण प्रणालीका साथै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का विभिन्न पक्षका बारेमा छलफल गर्नुभयो ।

कार्यक्रममा मेलम्ची खानेपानी उपआयोजना दुई, आयोजना कार्यान्वयन निर्देशनालयका परियोजना निर्देशक तिरेशप्रसाद खत्रीले उपआयोजना दुईबाट भइरहेका कार्यका बारेमा जानकारी गराउनुभयो । यस क्रममा उहाँले सुन्दरीजलबाट मुख्य वितरण प्रणालीका लागि बिच्छ्याउनु पर्ने ९ दशमलव ६ किमी लामो पाइपमध्ये ९ दशमलव ५ किमी बिच्छ्याई सकेको जानकारी दिनुभयो । एक हजार ४०० मिमि व्यासका यी पाइप वितवरण प्रणालीमा पानी पठाउने प्रमुख स्रोत हो ।

त्यसैगरी उहाँले वितरण सञ्जाल सुधार कार्यक्रमअन्तर्गत विभिन्न चार प्याकेजमा काम भइरहेको जानकारी गराउँदै वितरण सञ्जाल विस्तारका लागि ६७० किमी पाइप बिच्छ्याउने कार्यक्रम रहेकामा हालसम्म ३५२.४३ किमी क्षेत्रको काम सम्पन्न भएको जानकारी गराउनुभयो । तीनवटा विभिन्न प्याकेजमा गरी करिब ८३ हजार ५०० धारा जडान गर्नुपर्नेमा हालसम्म करिब २४ हजार ५०० धारा जडान भएको छ ।

आयोजनाअन्तर्गत उपत्यकाका विभिन्न भागमा प्रस्तावित पानी पोखरीहरुको निर्माण कार्य पनि तीब्र गतिमा भइरहेको छ । कूल नौमध्ये छवटा पोखरीको निर्माण कार्य अघि बढिरहेको सो अवसरमा जानकारी गराइयो ।

यसरी निर्माण हुने पोखरीहरुमा आरुबारी (८,५०० घन मी), महाँकालचौर (८,००० घन मी), बाँसबारी (९,५०० घन मी), पानीपोखरी (७,५०० घन मी), खुमलटार (९,५०० घन मी) र बालाजु (७,००० घन मी) रहेका छन् । कूल ५० हजार घन मी क्षमताका यी छ पोखरीमध्ये पानीपोखरी र खुमलटारका पोखरीको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ । सबै पोखरीका लागि ठेक्का सम्झौताहरु सम्पन्न भइसकेको र कार्यप्रगति ३८ प्रतिशतमा पुगेको जानकारी आयोजना कार्यान्वयन निर्देशनालयले गराएको छ ।

आयोजना कार्यान्वयन निर्देशनालयले अघि बढाएको अर्को काम फोहोर पानी प्रसोधन केन्द्रहरुको निर्माणअन्र्तगत गुह्ेश्वरी, सल्लाघारी, कोड्कु र धोबीघाटमा प्रसोधन केन्द्रहरुको निर्माण हुँदैछ । वातावरणमैत्री हुने गरी निर्माण गरिएका यी प्रसोधन केन्द्रहरुमा फोहर पानीलाई गन्ध नआओस् भनी ढाक्ने गरी डिजाइन गरिएको छ ।

गुह्ेश्वरीमा हाल विद्यमान प्रसोधन केन्द्रमा अर्को पनि प्रसोधन केन्द्र थप्ने, अहिले सञ्चालनमा आएकालाई आधुनिक बनाउने योजना अघि सारिएको छ । यस क्रममा गुह्ेश्वरी र धोवीघाटका प्रसोधन केन्द्रबाट बिजुली निकाल्ने गरी निर्माण गरिएको छ । गुह्ेश्वरी फोहर पानी प्रसोधन केन्द्रको निर्माण सम्झौता गत जेठ ६ मा सम्पन्न भइरहेको छ ।

निर्देशनालयका तर्फबाट समयमै सडक खन्ने स्वीकृति प्राप्त नभएको, भूकम्प र पेट्रोलियम पदार्थको अभाव भएको, नदीको वहाव क्षेत्र किटान नभएको, प्रसोधन केन्द्रहरुमा चौविसै घन्टा बिजुली उपलब्ध नभएको जस्ता चुनौतीहरु बारेमा छलफल भएको थियो । निर्देशनालयका तर्फबाट परियोजना उपनिर्देशक अनिलभद्र खनालले वितरण प्रणालीका विभिन्न पक्षहरुबारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का महाप्रबन्धक डा. महेश भट्टराइले केयुकेएलको वितरण प्रणाली, भौतिक तथा आर्थिक पक्ष, जनशक्तिलगायतका विभिन्न पक्षहरुका बारेमा जानकारी गराउनुभएको थियो ।