निर्वाचनको वातावरण बनाउन सिटौलाको आग्रह

काठमाडौँ, २२ जेठ – नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकलाई सही बाटोमा हिँडाउने कामको नेतृत्व काँग्रेसले लिनुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस झापा–काठमाडौँ सम्पर्क समितिको दोस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा बोल्नुहुदै काँग्रेस नेता सिटौलाले काँग्रेस नेतृत्वदायी भूमिकामा नहुँदा मुलुक सधैँ अन्यौलमा पर्ने गरेको धारणा राख्नुभयो ।

“काँग्रेस प्रतिपक्षमा भए पनि सत्तामा रहेका दललाई सम्झाइबुझाइ गरिरहेको र परिपक्व बन्न सिकाइरहेको छ । नयाँ विश्वास र समझदारी कायम गराउने जिम्मेवारी पनि हाम्रै हो”– उहाँले भन्नुभयो ।

नेता सिटौलाले मुलुक चाँडै नै निर्वाचनमा होमिनुपर्ने भएकाले निर्वाचनको वातावरण बनाउँदै तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले मुलुकको सम्पूर्ण जिम्मेवारी आफ्नै काँधमा छ भन्ने ठानेर युवाले जिम्मेवारीबोधका साथ क्रियाशील हुन आह्वान गर्नुभयो ।

कार्यक्रममा १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित झापाका काँग्रेस नेताद्वय विश्वप्रकाश शर्मा र सरिता प्रसार्इंलाई सम्मान गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ ।