एघार न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, २१ जेठ – सर्वोच्च अदालतका न्यायाधीशका लागि सिफारिस भएका ११ जना न्यायाधीशविरुद्ध पेस भएको रिट निवेदन इजलासको आदेशबमोजिम आज सर्वोच्च अदालत प्रशासनले दर्ता गरेको छ ।

अधिवक्ता पूर्णचन्द्र पौडेलद्वारा पेस भएको रिट निवेदन सर्वोच्च अदालतमा न्यायाधीश बैधनाथ उपाध्यायको इजलासले दर्ता गर्न बिहीबार प्रशासनलाई आदेश दिएको थियो । सोहीबमोजिम आज सो रिट निवेदन दर्ता भएको हो । यसको प्रारम्भिक सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । करिब तीन महिना अगाडि न्याय परिषद्ले पुनरावेदनका मुख्य न्यायाधीश सात र वरिष्ठ अधिवक्ता चार गरी ११ जनालाई सर्वोच्च अदालतको न्यायाधीश बनाउन सिफारिस गरेको थियो ।

सो सिफारिस गैरसंवैधानिक भएको दाबी गर्दै अधिवक्ता पौडेलले परिषद्को निर्णय कार्यान्वयन नगराउन आदेशको माग गर्दै रिट निवेदन पेस गर्नुभएको थियो ।

सर्वोच्च अदालतका रजिस्टार श्रीकान्त पौडेलले सो रिट निवेदन दरपीठ गरेपछि अधिवक्ता पौडेलले दरपीठविरुद्ध इजलासमा निवेदन दिनुभएको थियो । सो निवेदनको सुनुवाइ गरेपछि न्यायाधीश उपाध्यायले त्यसलाई दर्ता गर्न आदेश दिनुभएको थियो ।