नेकपा माओवादीको बन्दका कारण जनजीवन प्रभावित

चितवन, २१ जेठ –  नेकपा माओवादी (विप्लव समूह) ले आज आह्वान गरेको बन्दको प्रभाव चितवनमा बिहानैदेखि परेको छ ।

बन्दका कारण छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने लामो दूरीका सवारीलाई प्रहरीले सुरक्षित गन्तव्यतर्फ पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले नारायणगढको पुल्चोक, लोथर र कुरिनटार क्षेत्रबाट एस्कर्टिङ गरेर जिल्लाबाट सुरक्षित आवागमन गराइएको बताउनुभयो ।

बन्दका कारण यहाँका शैक्षिक संस्था, कलकारखाना, व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् । बजार बन्द भएको छ भने भित्री बजार भने आंशिकरुपमा खुलेका छन् ।

माओवादीले झापा, जुम्ला र धादिङमा आफ्ना नेता कार्यकर्ता पक्राउ परेको विरोधमा पश्चिम ताम्सालिङ, मेची र कर्णाली प्रदेश आज बन्द आह्वान गरिएको सो पार्टीले जनाएको छ । पश्चिम ताम्सालिङमा चितवन, धादिङ, नुवाकोट र रसुवा जिल्ला पर्दछन् ।