नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, २० जेठ । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चण्डीभञ्ज्याङ गाविस–६ कालिखोलास्थित सडकमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बिहान ६ः१५ बजेदेखि अवरुद्ध भएको सडक पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । बुधबार साँझ ७ बजे पनि सो क्षेत्रमा पहिरो खसेपछि केहीबेर सडक अवरुद्ध भएको थियो ।

राजधानी काठमाडौँ र पोखरा लगायतका क्षेत्रलाई तराईसँग जोड्ने सो सडक दिनमा चार घन्टा आवागमन बन्द गराएर मर्मतसम्भार कार्यलाई तीव्रता दिइँदै आएको छ । सो क्षेत्रमा पहाड फुटाएर सडक फराकिलो बनाएका कारण पटकपटक पहिरो खस्दा यात्रुले भने सास्ती पाउने गरेका छन् ।