प्रतिपक्ष नरम हुँदै, सत्तापक्ष चर्कदै

जेठ १९,काठमाडौं– संसदीय अभ्यासमा प्रतिपक्षले आलोचना गर्नु र सत्तापक्षले बचाउ गर्नु सामान्य र औपचारिक प्रक्रिया हो । तर बजेटबारे प्रतिपक्षभन्दा सत्ता साझेदार दलका नेताहरु आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

बजेटलाई ‘महत्वाकाक्षी, वितरणमुखी र हावादारी’ संज्ञादिदै आक्रमक देखिएको प्रमुख प्रतिपक्षी कांग्रेस सदनमा भने संयमितरुमा प्रस्तुत भएको छ । सदनमा बजेट पेस गर्नु अगाबै सार्वजनिक सञ्चारमाध्यम मार्फत महत्वपूर्ण सूचना चुहिएको विषयमा छानविन गर्न ‘संसदीय विशेष समिति’ गठन पछि मंगलबार सुरु सैद्धान्तिक छलफलमा प्रतिपक्षी कांग्रेस नेताहरुको अभिब्यक्ति बजेट कार्यान्वयनका चुनौतीमा केन्द्रीत देखिएको हो ।

सत्तारुढ राप्रपा नेपाल र फोरम लोकतान्त्रिकका नेताहरुले भने बजेटप्रति असन्तुष्टि जनाएका छन् । लक्ष्य अनुरुपको राजश्व संकलन हुँदापनि त्यसले साधारण खर्च धान्न नसक्ने अवस्थालाई सत्तापक्ष र प्रतिपक्ष दुबैले बजेटको चुनौतीका रुपमा चित्रित गरेका छन् ।

प्रमुख सत्तारुढ दल एमालेले बजेटको पूर्ण बचाउ गरेको छ भने सत्तासझेदार एमाओवादीले ‘आमरुपमा सकारात्मक दिशामा केन्द्रीत’ रहेको टिप्पणी गरेको छ । ‘निकै राम्रो, सन्तुलित र हिम्मतिलो बजेट आएको छ,’ पूर्वअर्थमन्त्री समेत रहेका एमाले नेता भरतमोहन अधिकारीले भने– ‘महतजीको कुरा नकारात्मक छैन । बजेटमा एउटा समझदारी बन्न सक्छ । सहमतिबाटै कार्यान्वयन गरौं।’