सिंहदरबार भत्काउने वा नभत्काएरै बनाउने विवाद

जेठ १५, काठमाडौं– भूकम्पबाट क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूल भवन भत्काएरै बनाउने वा बलियो हुने गरी पुनर्निर्माण गर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ ।

पुरातत्व विभाग एक सय वर्ष नाघेको पुरातात्विक महत्वको सिंहदरबार केही बढी खर्च लागे पनि नभत्काई हालकै अवस्थामा मजबुत बनाउनुपर्छ भन्नेमा छ भने सिंहदरबार पुनर्निर्माण आयोजना भूकम्पले सारै कमजोर बनाएको यो भवन नभत्काइ बनाउन नसकिने अडानमा रहेको छ ।

पुनर्निर्माणका क्रममा यी दुई प्रकारका कार्य विधि प्रस्तुत भइरहेका छन् ।

पुरातत्व विभागका डिभिजन इन्जिनियर सम्पत घिमिरेले सिंहदरबारको पश्चिमतर्फको मूल भवन नभत्काइ बलियो बनाउन सकिने राय आफूले दिएको तर आयोजनाले पूरै भवन नभत्काइ नहुने राय राखेको बताउछन्।