ट्राफिक जरिवाना बढाएकोमा विरोध,उपत्यकामा चक्काजाम

जेठ १३, काठमाडौं– ट्राफिक जरिवाना बढाएको विरोधमा आज विभिन्न यातायत व्यवसायी र मजदुरहरुले उपत्यकामा सवारी साधन चलाएका छैनन् । बढाएको ट्राफिक जरिवाना संशोधन गर्नुपर्ने मागसहित उनीहरुले आज उपत्यकामा सवारी साधन ठप्प पारेका हुन् ।

नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र अखिल नेपाल क्रान्तिकारी मजदुर संघ लगायतका ८ वटा संस्था संयुक्त रुपमा जेठ १३ गते मुलुकभरका आफ्ना सवारीसाधन ग्यारेजमा थन्क्याएर सडकमा उत्रिएका हुन्।

उनीहरुको आन्दोलनका कारण उपत्यकामा सार्वजनिक यातायतका साधन संचालनमा आएका छैनन भने मोटरसाइकल र कार नीजि सवार साधन सडकमा कुदिरहेका छन्।

उनीहरुले यसअघि जेठ २ गते जरिवाना रसिदको अवज्ञा , जेठ १० गते देशव्यापी माइकिङ र पर्चा वितरण, ११ गते बसपार्कहरुमा विरोध सभा गरेका थिए। नयाँ ट्राफिक जरिवाना जेठ १ गतेबाट लागू भएको छ।