ड्रिम फाप्लाको गुरुयोजना सार्वजनिक

धनगढी– मलाई आशा छ यो सपना अवश्य पनि पूरा हुनेछ, यो नेपाली क्रिकेटको आवश्यकता पनि हो,’ नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले धनगढीमा निर्माण हुने अन्तर्राष्ट्रियस्तरको फाप्ला क्रिकेट मैदानको गुरुयोजना सार्वजनिक भएपछि आफ्नो प्रतिक्रिया दिने क्रममा यस्तो धारणा राखेका हुन् ।

खड्काले सबैलाई यो अभियान सफल बनाउन आग्रहसमेत गरेका छन् ।

ड्रिम फाप्ला अभियानले क्रिकेट मैदानको मास्टर प्लान सार्वजनिक गर्नेबित्तिकै कप्तान खड्का मात्र होइन, अधिकांश चर्चित क्रिकेटरले यो अभियानलाई सफल पार्न सबै लाग्नुपर्ने उल्लेख गर्दै आफूहरूले पनि सहयोग गर्ने इच्छा देखाएका छन् । यो अभियानमा केही विदेशी क्रिकेटरले समेत सहयोग गर्ने फेसबुकमार्फत बताएका छन् ।

हुन पनि लामो अध्ययन, छलफल र संघर्षपछि धनगढीको फाप्लामा निर्माण सुरु भएको क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउन ड्रिम फाप्लाले मास्टर प्लान सार्वजनिक गर्दै सहयोगका लागि अपिल गरेको हो ।

‘यो दीर्घकालीन सोचका आधारमा तयार गरिएको हो,’ ड्रिम फाप्लाका संयोजक सुवास शाहीले भने, ‘१ अर्ब ८० करोड लागतमा ४० हजार दर्शक एकसाथ बसेर हेर्न सक्ने क्रिकेट मैदान निर्माणको सुरुवात भएको छ ।’

मैदान निर्माणका लागि जग्गा स्वामित्वको सामान्य विवाद सुल्झिएपछि ड्रिम फाप्लाले यो मास्टर प्लान सार्वजनिक गरेको हो ।

‘सार्वजनिक निजी साझेदारी र सरकारी सहयोगमा उक्त मैदान निर्माणका लागि अब काम अगाडि बढ्छ,’ शाहीले भने, ‘जसको सुरुवात फिनल्यान्डमा रहेका नेपालीले गरेका छन् ।’ आउँदो साता फिनल्यान्डमा फाप्ला क्रिकेट मैदान निर्माणको सहयोगार्थ लिग क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ ।

विदेशमा मात्र होइन, देशभरि फाप्ला मैदान निर्माणका लागि सहयोग जुटाउन ठूलो अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ ।

‘सन् २०२० भित्र धनगढीमा पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने गरी काम सुरु गरिरहेका छौं,’ अभियानका संयोजक शाहीले भने, ‘२०१५ मा भएको एसपीए कपमा प्रतिटिकट ५ रुपैयाँ उठाएर सुरु भएको यो अभियान अहिले आएर धेरै अगाडि बढिसकेको छ ।’

शाहीका अनुसार मोहना नदीतिरमा ८ सय मिटर लामो तटबन्ध निर्माण भइसकेको छ भने अहिले सरकारले छुट्याएको रकम उपभोक्ता समिति गठन गरी काम सुरु गर्ने निर्णय भइसकेको छ । फाप्लाका संयोजक शाही मैदान निर्माणका लागि प्रायोजन गर्न विभिन्न कम्पनीले सम्पर्क सुरु गरेको बताउँछन् ।

उनले भने, ‘यो सुदूरपश्चिमको मात्र होइन, देशकै अभियान हो । यसको नेतृत्व मात्र सुदूरपश्चिमले गरेको हो ।’

जिम हाउस, ट्रेनिङ सेन्टर, लकर, स्विमिङ पुल, ट्रेनिङ हाउस र भीआईपी कक्षसहित मोहना नदी किनारमा लामो घाँसे मैदान रहने गरी बनाइएको ड्रिम फाप्ला मास्टर प्लान अन्तर्राष्ट्रियस्तरका अधिकांश क्रिकेट मैदानभन्दा बढी आकर्षक हुनेछ ।

धनगढी बजार पश्चिममा रहेको मोहना नदी किनारमा मैदान निर्माणका लागि हाल १५ बिघाभन्दा बढी जमिन सामुदायिक वनले छुट्याएको छ । मैदान निर्माणका लागि थप जग्गा आवश्यक भए पनि सामुदायिक वनले चाहेजति जग्गा दिन सक्ने बताएको छ ।

विदेशमा मात्र होइन, देशभरि फाप्ला मैदान निर्माणका लागि सहयोग जुटाउन ठूलो अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ ।