नर्सिङ दिवस मनाइदै

वैशाख ३०, काठमाडौं–  विभिन्न कार्यक्रमको आयोजना गर्दै आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइदै छ।
मे १२ को अवसरमा आज राजधानीमा बृहद् र्‍याली एवम् प्रभातफेरिको आयोजना गरियो।

सुरक्षित कार्यस्थल, रोजगारीको व्यवस्था, गुणस्तरीय नर्सिङ सेवा, औद्योगिक र स्कुल नर्स सहितको प्लेकार्ड बोकेर माइतीघरबाट निस्केको र्‍याली थापाथली, त्रिपुरेश्वर, सहिदगेट, वीर अस्पताल हुँदै टुँडिखेलस्थित खुल्लामञ्चमा पुगेर सभामा परिणत भएको थियो। नर्सिङ सेवामा सुप्रसिद्ध फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर यो दिवस मनाइने गरिन्छ।

‘स्वास्थ्य प्रणाली सुधारका लागि नर्सिङसेवा’ नाराका साथ विश्वका १३६ मुलुकमा आज विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ। नेपालमा सूचीकृत नर्सको सङ्ख्या ६५ हजार छ। मुलुकका १०७ कलेजमा नर्सिङ्ग पढाइ हुने गरेको छ। त्यहाँबाट अनमी, स्टाफ र विएन गरी वार्षिक रुपमा आठ हजारको सङ्ख्यामा नर्स उत्पादन हुँदै आएका छन्।

र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले सबै जनतामा स्वास्थ्य सेवाको पहुँच सहज बनाउने सरकारको नीतिअनुसार नर्सिङ सेवालाई पनि सुधार र परिमार्जन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।