कुटपिट गर्नेलाई पक्राउ माग

बैशाख २२, काठमाडौँ–नेकपा (एमाले)को भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आफ्ना सङ्गठन सदस्य विशाल राना मगरलाई कुटपिट गर्नेलाई पक्राउको माग गर्दै आज लैनचौरस्थित अमृत क्याम्पस अगाडि चक्का जाम गरेको छ ।

मगरलाई क्याम्पसभित्र एकीकृतनेकपा (माओवादी) निकट विद्यार्थी सङ्गठनका विद्यार्थीले सोमबार फलामको छडले टाउकामा हानेर घाइते बनाएको आरोप लगाइएको छ ।

अनेरास्ववियुका सचिव आरसी लामिछानेले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई २४ घन्टाभित्र पक्राउ गरी आवश्यक कारबाही गर्न प्रहरी प्रशासनसँग माग गर्दै आफ्नो सङ्गठनले समेत अनुसन्धान गरी अपराधी पत्ता लगाउन प्रशासनलाई सहयोग गर्ने बताए ।