गार्गी कन्या गुरुकुलःजहाँ सुनिन्छ छात्राका वेदका मधुर ध्वनी

अन्जली रम्तेल

काठमाडौँ– नक्सालस्थित गार्गी कन्या गुरुकुलको एउटा कक्षामा पुग्दा तीन वर्षदेखि १२÷१३ वर्षसम्म उमेरका साना नानीहरु नबिराई सँस्कृतको श्लोक भनिरहेको सुन्दा एक त अचम्म लाग्यो अनि अर्कोतर्फ रमाइलो अनुभव भयो ।
चौध जना साना नानीलाई एकै ठाउँमा राखेर सँस्कृति विषयको अध्ययन गराउने हँसिली शिक्षक शुभद्रा नेपालले विद्यार्थीलाई सँस्कृत भाषाअन्तर्गत वेद पढ्न लगाइरहेकी थिइन् ।
हामी कक्षामा प्रवेश गर्ने बित्तिकै सबै विद्यार्थी उठेर नमस्कार गरी आफ्नो शिष्टताको परिचय दिइहाले । उनीहरुको परीक्षा लिने तयारी भइरहेको रहेछ । त्यसैले विद्यार्थीहरु वेद, गीतालगायतका सँस्कृत ग्रन्थका श्लोक कण्ठ गरिरहेका थिए ।
ओखलढुङ्गाबाट आएर गुरुकुलमा कक्षा ४ मा पढिरहेकी चेतना वाग्लेले अहिले नै लक्ष्य पनि तय गरिसकेकी छिन् । उनको गाउँमा सँस्कृत विषय नपढाइने भएकाले अब गएर सँस्कृत विषयलाई नै मुख्य विषय बनाएर गाउँका भाईबहिनीलाई पढाउने । उनले भनिन्–‘हाम्रो गाउँको स्कुलमा अरु विषय पढाउने भएपनि सँस्कृत विषय कसैले पनि पढाउँदैन । त्यसैले म गाउँमा जान्छु अनि अरुलाई सँस्कृत पढाउँछु ।’ सँस्कृत पढ्न जान्ने मान्छेलाई सबैले राम्रो मान्ने उनको बुझाई छ । त्यसैले गाउँमा सबैभन्दा राम्रो बन्ने उनको सोँच छ । उनले सँस्कृतको स्तोत्र पनि सुनाइन् ।
कक्षा ५ मा अध्ययनरत कालिकोटकी सुनिता बटालाको सोँच शिक्षक बन्ने छ तर गाउँमा गएर अरु विषय पढाउनेभन्दा वेदलाई नै प्राथमिकता दिनेमा उनी प्रतिबद्ध छिन् । बिहानै ५ बज्दानबज्दै उठेर योग गर्न थाल्ने सुनितालाई आफूले सिकेको योगलाई अरुलाई सिकाउन आनन्द आउँछ । त्यसैले उनी योग सिकाउनलाई पनि छुट्टै कक्षा चाहिने बताउँछिन् ।
इलामकी विजया खनाल पनि भविष्यमा शिक्षक नै बन्ने बताउँछिन् । हामीलाई उनले गीताका केही श्लोक समेत वाचन गरेर सुनाइन् । पढाएका कुरालाई अत्यन्त शुष्म तरिकाले दिमागमा राख्ने विजयालाई पढिरहन भन्नु नपर्ने उनकी सँस्कृत शिक्षक नेपालले बताइन् ।
गुरुकुलमा सँस्कृत भाषा मात्र हैन अन्य विद्यालयमा पढाइने नेपाली, अँग्रेजी, विज्ञान, हिसाब पनि पढाइन्छ । यसका साथै योग, चित्रकला, नृत्य, सँगीतजस्ता विषयलाई पनि प्राथमिकताका साथ पढाइने गरिन्छ । अहिले सँस्कृत विषयअन्तर्गत रुद्री पाठको नयाँ अध्याय समेत पढाउन सुरु गरिएको छ । शिक्षक नेपालले रुद्री पाठ कसरी गराउने पुजा विधि केके हुन् भन्ने विषयमा पढाउन सुरु गरिसकिएको जानकारी दिइन् ।  विद्यार्थीलाई एउटा विषयमा मात्र हैन अतिरिक्त अन्य विषयमा पनि पोख्त बनाउने लक्ष्य विद्यालयको छ उनले भनिन् ।
सँस्कृत भाषा मासिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै शिक्षा क्षेत्रको विकासका लागि लागि अग्रणी भूूमिका खेल्दै आउनुभएका शिक्षाविद् डा अंगुुरबाबा जोशीको अगुवाईमा डा कमला सुवेदी, डा निर्मला पोखरेल, मन काफ्लेलगायतले उक्त विद्यालय स्थापनामा योगदान पु¥याएका थिए ।
विसं २०६८ मा स्थापित सो विद्यालयमा अहिले १४ जना छात्रा अध्ययनरत छन् । सँस्कृत ब्राह्मणले मात्र पढ्नुपर्छ भन्ने पहिलेको मान्यतालाई तोड्दै गुरुकुलले विभिन्न जिल्लाका विभिन्न भाषाभाषी र जातका छात्रालाई एकै ठाउँमा राखेर सँस्कृतका वेद, शास्त्रको अध्ययन गराउँदै आएको छ ।
वेदका प्रखर ज्ञाताका रुपमा रहेका महर्षी गार्गीको नामबाट स्थापना गरिएको सो गुरुकुलले महिलालाई पनि सँस्कृतका शास्त्रमा विज्ञ बनाउने र पण्डित्याईका काममा महिलालाई अगाडि बढाउने लक्ष्य लिएको छ ।
गुरुकुलमा अध्ययन गरिरहेका छात्राले अहिलेदेखि नै बिहान ५ बजे उठ्ने, योगध्यान गर्ने, वेद स्तुति गर्नेजस्ता कार्यमा आफूलाई नियमित गरिसकेका छन् । सँस्कृत भाषाको अध्ययनका लागि कुनैबेला भारतको बनारसमा जाने परम्परा नेपालमा पनि थियो । अहिले हराउँदै गइरहेको सँस्कृत भाषालाई गुरुकुलले केही छात्राको उत्पादन गर्दै संरक्षण गर्ने प्रयासमा छ ।