वन्यजन्तुको तस्करी रोक्न नेपाल–भारत वन अधिकारीबीच सहमति

बैशाख ३, महेन्द्रनगर–
सीमा क्षेत्रमा हुने अवैध चोरी सिकारी नियन्त्रण गर्न नेपाल र भारतका वन अधिकारी सहमत भएका छन् । सीमा क्षेत्रमा हुने चोरी सिकारी र वन्यजन्तुका अंग तस्करीलाई रोक्न दुई देशका वन अधिकारीले सहमति गरेका हुन् ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बिहीबार बसेको संयुक्त बैठकबाट वन्यजन्तुको चोरी–सिकारी नियन्त्रण गर्नका लागि सीमाक्षेत्रमा संयुक्त गस्तीको कार्यसँगै सूचना आदान–प्रदानको कार्यलाई निरन्तरता दिने निर्णय गरिएको छ ।
बाघ संरक्षणको कार्य चुनौतीको विषय भएकाले यसको रोकथामका लागि समन्वयात्मक ढङ्गले कार्य गर्ने बैठकमा सहमति भएको शुक्लाफाँटा वन्यजन्तु आरक्षका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले बताए ।
उनले भारतीय पक्षबाट महाकाली नदीको ब्रह्मदेव क्षेत्रबाट भइरहेको बालुवा उत्खनन गर्ने कार्य रोक्नका लागि पहल गर्नुपर्ने भारतीय समकक्षीसमक्ष राखेको बताए । उनकाअनुसार भारतीय पक्षले बालुवा उत्खननको कार्य रोक्नका लागि बैठकमा प्रतिबद्धता व्यक्त गरेका थिए । संयुक्त बैठकमा हालसम्म भएका कामको समीक्षा र आगामी योजना निर्माण गर्ने विषयमा छलफलसमेत भएको छ ।