कांग्रेसभित्र भागबन्डाको राजनीति अन्त्य भइसकेको कोइरालाको दावी

चैत २६, धादिङ – नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले १३ औं महाधिवेशनबाट  पार्टीभित्रको भागबन्डाको राजनीतिलाई अन्त्य भएको बताएका छन्।

नेपाल प्रेस युनियन धादिङले शुक्रवार धादिङबेसीमा गरेको पत्रकार सम्मेलनमा कोइरालाले १३औँ महाधिवेशनलाई एकता अधिवेशनका रुपमा लिएर प्रतिनिधिहरुले मतदान गरेकाले पार्टीमा देखिएको ६०÷४० को भागबन्डाको अब अन्त्य भएको बताएका हुन्। उनले भागबन्डाको राजनीति समाप्त भइसकेकाले पार्टीलाई अझ सशक्त बनाउन नेता तथा कार्यकर्ता एक भएर लाग्नु पर्ने आवश्यक रहेको बताए।

महामन्त्री कोइरालाले सरकारमा सहभागी हुने विषयमा अझै निर्णय नभइसकेको पनि बताए ।
कोइरालाले लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा हुने भएकाले कसैको जित र हार नहुने बताए।सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको संसदीय दलको नेताका लागि भएको प्रतिस्पर्धाले पार्टीमा फुट नभई एकता कायम गर्ने उनको भनाई छ।