आर्थिक अभावमा ऋण खाप्दै बिरामी

चैत २६, सिरहा– दमरोग उपचार गराउन जिल्ला अस्पतालको बेड नम्बर १४ मा भर्ना छन्, सिरहा–२ का रामप्रीत यादव। विपन्न आर्थिक स्थितिका उनले सरकारी अस्पतालै रोज्नुको कारण स्पष्ट छ, उपचार निःशुल्क घोषणा गर्नु। तर आइतबार भर्ना भएका उनलाई केही दिनमै खर्च थेग्न धौधौ पर्न थाल्यो। अस्पताल बसाइ लम्बिए ऋणको भारी नै बोकेर निस्कनुपर्ने भयले तर्सिन थालेका छन् उनी।

सरकारले निःशुल्क भने पनि अस्पतालले उनलाई औषधि उपलब्ध गराएको छैन। अस्पतालबाहिरको पसलबाट औषधि किनेर खान बाध्य छन् उनी आजित हुँदै भन्न थालेका छन्, ‘निजी अस्पताल जान सक्दैनौं, निःशुल्क होला भनेर यहाँ आएको औषधि किनेरै नसक्ने भइयो। एक्सरेसमेत अस्पतालबाहिरै गराउनुपर्ने भयो।’ सरकारले घोषणा गरेको निःशुल्क सेवा कागजमै सीमित रहेको अनुभूति यादवले गरेका छन्।

अस्पतालमा एक्सरे मेसिन नभएको होइन तर त्यो पर्याप्त छैन। दमका बिरामी यादवलाई डाक्टरले डिजिटल एक्सरे गराउन भने, जुन सेवा अस्पतालमा उपलब्ध छैन। यादवले बाहिर पैसा तिरेर डिजिटल एक्सरे गराए। ‘एक्सरेदेखि औषधिसम्म अस्पतालबाहिर शुल्क तिरेर लिनुप¥यो,’ उनले भने, ‘डाक्टरी जाँच र बेड खर्चमात्रै निःशुल्क भो, बाँकी सबै सेवालाई रकम तिर्नुपर्दो रहेछ।’ (नागरिक दैनिकबाट)