संसद बैठक अब १ घण्टाभन्दा ढिलो नहुने

चैत २२, काठमाडौं– ठीक समयमा काम सुरु नगर्ने प्रवृत्तिको व्यंग्यात्मक शब्दावली हो– ‘नेपाली समय’। अझ संसदीय अभ्यासमा त विहान ११ बजेका लागि डाकिएको बैठक मध्यराति मात्रै बस्न सक्छ। सत्ता खिचातानी र सरकार–प्रतिपक्षको सौदाबाजीका कारण संसदका अधिकांश बैठक समयमा सुरु हुँदैनन्।

संसदको नयाँ नियमावली लागू भएपछि भने सदनको घण्टी कतिबेला बज्ला भनेर हाई काड्दै दिनभरि रुङ्नुपर्ने बाध्यताबाट सांसदहरुले छुटकारा पाउने भएका छन्।

नियमावली मस्यौता समिति अन्तर्गतको मस्यौदा लेखन उपसमितिले मध्यरातको १२ बजे अघिसम्म जतिबेला सदन सुरु गरेपनि हुने सभामुखको तजबिजी अधिकार कटौती गर्ने प्रस्ताव गरेको हो।

एक घण्टाभित्र सुरु गर्न नसक्ने अवस्थामा सभामुखले तत्कालै अर्को बैठकको मिति र समय तोक्नुपर्ने प्रस्तावित नियमावलीमा छ। (कान्तिपुर दैनिकबाट)