प्रवेशिका परीक्षामा सात करोड बजेट अपुग

चैत १९, काठमाडौं–अनुमान गरिएभन्दा बढी विद्यार्थी सामेल भएपछि प्रवेशिका परीक्षाका लागि पूर्वनिर्धारित बजेट अपुग भएको छ ।

चालु आर्थिक वर्षमा शिक्षा मन्त्रालयले परीक्षा सञ्चालनका लागि कुल रु ३७ करोड पचास लाख विनियोजन गरेकोमा करिब रु सात करोड रकम अपुग हुने देखिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गुरुप्रसाद पौडेलका अनुसार परीक्षा सकिएपछि तेस्रो चौमासिकमा हुने गरी अर्थ मन्त्रालयमा थप बजेट माग गरिने बताए ।

बिहीबारदेखि सुरु भएको परीक्षामा गत वर्षको भन्दा करिब पचास हजार बढी अर्थात सवा छ लाख परीक्षार्थी सामेल छन् । परीक्षाका लागि कुल छ लाख १५ हजार ५५३ परीक्षार्थीले आवेदन दिएका थिए । गत वर्ष पाँच लाख ७० हजार विद्यार्थी थिए । यस वर्ष गत वर्षभन्दा करिब एक सय परीक्षा केन्द्र बढी छन् ।

यस वर्षबाट अक्षराङ्कन पद्धतिमा मूल्याङ्कन हुनेगरी परीक्षा सुरु भएको छ । भूकम्प र अघोषित नाकाबन्दीको असरका बीच पनि यस वर्ष विद्यार्थीले पूर्ववत् समयमै परीक्षामा सामेल भएका छन् ।

यसैगरी, प्राविधिकतर्फ तीन हजार २५५ जना परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा बढी काठमाडौँमा ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिनेछन् ।

परीक्षाका लागि देशभर एक हजार ९४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी काठमाडौँका ३५ हजार ७२९ र सबैभन्दा कम मनाङका ६३ परीक्षार्थी सम्मिलित हुनेछन् । परीक्षामा देशभर ७२ हजार ८९६ जनशक्ति परिचालन गरिने भएको छ । सुरक्षाकर्मीमात्रै २९ हजार १४५ परिचालन हुनेछन् ।