लुईँटेल र राणालाई गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार

चैत १६, काठमाडौं– रिपोर्टर्स क्लव नेपालले यस वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार देशान्तर साप्ताहिकका सम्पादक कविर राणा र नागरिक दैनिकका सम्पादक गुणराज लुईंटेललाई दिने भएको छ।

नेपाली राजनीतिका महानायक नेपाली काँग्रेसका पूर्वसभापति, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापीत यो पुरस्कार तीन दशकदेखि पत्रकारितामा सक्रिय पत्रकारद्वय राणा र लुईटेललाई जनही ५०र५० हजार रुपैयाँ राशीको यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

यसैगरी प्रजातन्त्र सेनानी तारिणीप्रसाद कोइरालाको स्मृतिमा स्थापीत ‘तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजनका राजु सिलवाल र अन्नपूर्ण पोष्ट दैनिकका चुडामणी भट्टराईलाई दिने भएको छ।

यो पुरस्कार २५र२५ हजार रुपैयाँ राशीको छ।

यसैगरी यस वर्षको बाबुछिरी फोटो पत्रकारिता पुरस्कार नयाँ पत्रिका दैनिकका फोटो पत्रकार अमुल थापालाई प्रदान गरिने भएको छ। यो पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ।

यसैगरी सर्वश्रेष्ठ युवा पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका बसन्त बस्नेतलाई दिने निर्णय गरेको छ। यो पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ।

यसैगरी कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार नेपाल बाणि नेटवर्कका दामोदर दवाडीलाई प्रदान गरिने भएको छ। यो पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ।

पुरस्कार यही चैत १७ गते रिपोर्टर्स क्लव नेपालको १८ औं वार्षिकोत्सव का अवसरमा आयोजना गरिने विशेष समारोहमा प्रदान गरिने रपोर्टर्स क्लबले जनाएको छ।

यसैगरी रिपोर्टर्स क्लव नेपालले एमालेका पूर्वमहासचिव मदनकुमार भण्डारीको स्मृतिमा पनि पुरस्कार स्थापना गरेको छ। ५० हजार रुपैयाँ राशीको यो पुरस्कार आगामी वर्षदेखि प्रदान गरिने भएको छ।