संस्थापन पक्षको भेलाले एमालेमा असन्तुष्टि

चैत १५,काठमाडौं –  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा रहेका वेला उनको समूहले काठमाडौंमा छुट्टै भेला गरेपछि पार्टीभित्र नयाँ बहस सिर्जना भएको छ। मदन भण्डारी फाउन्डेसनको ब्यानरमा संस्थापनले ‘जनताको बहुदलीय जनवाद र समृद्धिको यात्रा’ शीर्षकमा अनमोल क्याटरिङमा शनिबार भेला गरेको थियो।

भेलामा सचिव प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, स्थायी समिति सदस्य शंकर पोखरेल, पोलिटब्युरो सदस्य भानुभक्त ढकालसहित चार सय नेता–कार्यकर्ता सहभागी थिए। संस्थापनबाट निर्वाचित केन्द्रीय सदस्य, आयोगका सदस्यहरू, जिल्ला अध्यक्ष, प्रतिनिधित्व नभएका जिल्लाबाट उपाध्यक्ष र सचिव, विभिन्न जनसंगठनका प्रमुख तथा पदाधिकारी सहभागी थिए। भेलामा पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए।

बहुमतका साथ पार्टी चलाउन नेतृत्व असफल

भेलाका सहभागीले महाधिवेशन सकिएको २० महिनासम्म नयाँ संविधानअनुसार प्रादेशिक ढाँचामा संगठन निर्माण, केन्द्रीय विभागलाई पूर्णता, राष्ट्रिय परिषद् गठन, सल्लाहकार परिषद्लाई पूर्णता र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्न नसकेको भन्दै नेतृत्वको आलोचना गरेका थिए। केन्द्रीय कमिटीमा बहुमत हुँदाहुँदै नेतृत्व पार्टी चलाउन असफल भएको उनीहरूको निष्कर्ष थियो।

उनीहरूले यही कमजोरीलाई समातेर नेता माधवकुमार नेपाल पक्षले अल्पमतका नाममा समानान्तर गतिविधि गरेर नेतृत्वलाई खुइल्याइरहेको भन्दै अराजकता रोक्न बहुमतका आधारमा निर्णय लिएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

रणनीतिक तयारीमा नेपाल पक्ष

पार्टीमा संस्थागत प्रणाली अन्त्य गरी संस्थापन पक्षले नै गुटका आधारमा पार्टी सञ्चालन गरेको भन्दै माधव नेपाल पक्ष भने आसन्न पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा प्रतिवादको तयारीमा छ। एमालेले आगामी २३ र २४ गते पोलिटब्युरो र २७, २८ र २९ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ।

संस्थापनले नै राष्ट्रियस्तरको भेला गरेर गुटबन्दी झन् संस्थागत गरेकोमा रुष्ट नेपाल पक्षले रणनीतिका लागि आन्तरिक गृहकार्य थालेको छ। विभाग गठन, विधान संशोधन र परिषद् गठनदेखि पार्टी सञ्चालनका विषयमा नेतृत्वको कमजोरी र असफलता औँल्याउने नेपालपक्षीय नेताहरूको तयारी छ।(नयाँ पत्रिका दैनिकबाट)