कसले रुवायो करिस्मालाई

चैत १४, काठमाडौं– बौद्धिक अपाङ्गताअन्तर्गत ‘डाउन सिन्ड्रोम’ भएका बालबालिकाको कार्यक्रममा प्रमुख अथिति बन्न पुगेकी नायिका करिस्मा मानन्धर उनीहरुले नाचेको देखेर रुन पुगिन् ।
रङ्गीचङ्गी कपडा लगाएर डाउन सिन्ड्रोम भएका बालबालिका स्टेजमा नृत्य गर्न थालिपछि उनी छक्क परेर हेर्दै रुन थालेकी थिइन् ।
एघारौँ विश्व डाउन सिन्ड्रोम दिवसको सन्दर्भमा डाउन सिन्ड्रोम समाजले आयोजना गरेको कार्यक्रममा करिब एक दर्जन बालबालिकाले आफूमा भएको नृत्य क्षमता देखाउँदा करिस्मासहित उनीहरुको नृत्य हेर्न पुगेका दर्शक  भावविह्वल भएका थिए ।
नायिका मानन्धरले भनिन्–‘मलाई कहिल्यै पनि अपाङ्गता भन्ने चीज हुन्छ भन्ने नै लाग्दैनथ्यो, उहाँहरुको नाच देख्दा अपाङ्गता छ भन्ने नै लागेन । त्यसरी नाचेको देख्दा म तीनपटक रोएँ ।’ उनले अपाङ्गता भएकाहरुको लागि प्रत्येक नागरिकले एक रुपैँया मात्र सहयोग गरेपनि धेरै हुने भएकाले सबैलाई सहयोग गर्नका लागि आग्रह गरिन् ।
संस्थाका अध्यक्ष शीला थापाले डाउन सिन्ड्रोम भएका बालबालिकाको कला क्षेत्रमा लगाव र प्रतिभा भएकाले उनीहरुलाई कला क्षेत्रमा अवसर दिनुपर्ने बताए । संस्थाले यस्ता बालबालिकाको लागि अक्षयकोष स्थापना गरेकाले यसमा सरकारले पनि सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
नेपालमा डाउन सिन्ड्रोमपीडित बालबालिका कति छन् भन्ने एकीन तथ्याङ्क नभएपनि संस्थामा आबद्ध सदस्यको आधारमा करिब ५०० बालबालिका छन् ।