काठमाडौँ, १२ चैत । काठमाडौंका विभिन्न फुटपाथमा डुल्दै चुरोट तथा गुटखा बिक्री गर्दै आएकी सुकुमली देवीको पनि व्यापार अचेल घट्दै गएको छ ।
पहिले दिनको ४ बट्टासम्म चुरोट विक्री हुनेभएपपिन अहिले दैनिक १ बट्टा पनि विक्री गर्न गाह्रो हुने गरेको उनले सुनाइन् ।
विगत १० वर्षदेखि काठमाडौँको पुतलीसडकमा किराना पसल चलाएर बसेका विजय महर्जनले सुर्तीजन्य वस्तुका बिक्रीबाट राम्रो आम्दानी गर्ने भएपनि उनको आम्दानीमा समेत अहिले असर पर्न थालेको छ ।
उनले भने– ‘२ वर्ष भयो, चुरोट र सुर्तीजन्य वस्तुको राम्रो व्यापार हुन छाडेको । पहिलेको तुलनामा आधाभन्दा कम व्यापार हुन्छ,’ उनी भन्छन्, ‘सायद चुरोट पिउने मान्छेको संख्या घटेको होला ।’
चुरोटको बट्टा तथा खोलमा छापिएका ‘डरलाग्दा’ तस्विरले चुरोटलगायत सुर्तीजन्य वस्तुको व्यापार घटेको उनको बुझाइ छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ सुर्ती तथा चुरोट सेवनले स्वास्थ्यमा पर्ने नकरात्मक प्रभावबारे मानिसमा जनचेतना बढेकाले त्यस्ता वस्तुहरुको व्यापार घटेको बताउँछन् । ‘पछिल्लो समय बट्टामा जनचेतनामूलक तस्विर राखिनाले पनि मानिसहरुमा यसको सेवन गर्न हुन्न भन्ने चेतना बढेको छ्,’ उनले भने, ‘सरकारले पनि सुर्तीजन्य वस्तुका उपभोक्ता घटाउन विभिन्न कार्यक्रम गरिरहेको छ ।’
नेपाल राष्ट्रबैंकको एक अध्ययन अनुसार सुर्तीजन्य वस्तुको बजारसँगै उत्पादन पनि घट्दो क्रममा छ । राष्ट्रबैंकले देशका ८ ओटा मुख्य औद्योगिक क्षेत्रमा गरेको अध्ययन अनुसार नेपालमा वार्षिक २ प्रतिशतले सुर्तीजन्य वस्तुको बजार कम हुँदै गएको छ । यस्तै २ प्रतिशतकै दरले उत्पादनमा समेत कमी हुँदै गएको तथ्याङ्कले देखाउँछ ।
आर्थिक वर्ष २०७०÷७१ मा १ हजार ३ सय ७७ मेट्रिक टन सुर्ती उत्पादन भएकोमा आर्थिक वर्ष २०७१÷७२ मा हजार ३ सय ७५ मेट्रिक टन मात्रै सुर्ती उत्पादन भएको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार सुर्तीको खेती समेत वार्षिक औषत ६ प्रतिशतका दरले घट्दो क्रममा छ । आव २०७०÷७१ मा ८ सय ८९ हेक्टर जमिनमा सुर्ती खेती भएकोमा आव २०७२÷७२ ८ सय हेक्टरमा मात्रै सुर्ती खेती भएको तथ्याङ्कमा उल्लेख छ ।
आन्तरिक राजश्व विभागकाको तथ्याङ्क अनुसार सुर्तीजन्य पदार्थको राजश्व समेत घट्दो क्रममा छ । विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७१÷७२ मा सुर्तीजन्य पदार्थबाट रू २ अर्ब बढीको राजश्व संकलन भएको थियो । यस वर्षको माघ मसान्तसम्म रू. १ अर्ब राजश्व संकलन भएको छ ।
सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ जारी गर्दै सुर्तीजन्य वस्तुको बट्टा तथा खोलमा ७५ प्रतिशत जनचेतनामुलक तस्विर राख्नु पर्ने व्यवस्था लागु गरेको थियो । क्रमशः उक्त व्यवस्था लागु हुँदैगएपछि सुर्तीजन्य वस्तुको बजार घट्दै गएको विक्रेताहरु बताउँछन् ।
नेपाल पेय पदार्थ तथा चुरोट उत्पादक संघका अध्यक्ष रमेश प्रसाद श्रेष्ठ सरकारबाट आन्तरिक उत्पादनमा बढी कडाइ गरिदा सुर्तीजन्य वस्तुको आयात बढेको बताउँछन् । ‘ऐन कार्यान्वयनमा आउनु राम्रो पक्ष हो । तर, स्वदेशी उद्योगी र उत्पादनलाई बढी कडाइ गरिएकाले बाह्य उत्पादनले नेपाली बजार ओगट्ने खतरा छ,’ उनले भने ।
बजार तथा निर्यात प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०÷७१ र २०७१÷७२ समान रू. २ अर्ब ५५ करोडको सुर्तीजन्य वस्तुको आयात भएको छ । जो आर्थिक वर्ष २०६९÷७० को तुलनामा करीब २१ प्रतिशत बढी हो । आव २०६९÷७० मा रू. २ अर्ब ११ करोडको सुर्तीजन्य वस्तुको आयात भएको थियो ।
सरकारी तथ्याङ्कअनुसार सुर्तीजन्य वस्तुको प्रयोगबाट नेपालमा वार्षिक करीव २७ हजार क्यान्सर रोगी थपिन्छन् । र, वार्षिक करीव १६ हजार जनाको सुर्तीजन्य वस्तुको सेवनकै कारण मृत्यु हुने गर्छ । सरकारले सुर्तीजन्य वस्तुको प्रयोग घटाउन २०७१ सालदेखि सुर्तीजन्य वस्तुको बट्टा तथा खोलमा ९० प्रतिशत जनचेतनामूलक तस्विर राख्नुपर्ने नियम लागु गरेको छ । तर, उक्त नियम कार्यान्वयनमा भने आउन सकेको छैन ।