१७ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योग चलाउने सेनाको प्रस्ताव

चैत १२, काठमाडौं– नेपाली सेनाले करिब १७ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने प्रस्ताव गरेको छ। भएकै पुर्वाधार मर्मत संभार गरेर सञ्चालन गर्न सेनाले रक्षा मन्त्रालयमार्फत उद्योग मन्त्रालय समक्ष प्रस्ताव पेश गरेको हो।

सेनाले प्रारम्भीक अध्ययन गरी जिम्मेवारी पाएमा मर्मतपछि सञ्चालन गर्ने निष्कर्ष निकाल्दै उद्योग सञ्चालनको प्रस्ताव गरेको हो। सेनाको सैनिक सामग्री उत्पादन निर्देशनअन्तर्गतको कम्पनी ‘बहुव्यवसाय उद्योग’ले  कारखाना सञ्चालन गर्ने तयारी हो। यो कम्पनी सैनिक कल्याण कोषको रकमबाट सञ्चालित छ। ‘संगठनलाई आवश्यक सामग्री उत्पादन गर्न सकिन्छ भनेर प्रस्ताव अघि बढाइएको हो,’ सेनाका सहायक रथी तथा प्रवक्ता ताराबहादुर कार्कीले भने।

बन्द हेटौडा कपडा उद्योग १ सय ८८ रोपनीमा फैलिएको छ। उक्त उद्योग नेपाल र चीन सरकारको सयुक्त लगानीमा २०३२ मा स्थापना भइ २०३५ देखि कपडा उत्पादन गर्दै आएको थियो। विभिन्न कारणले ०५६ फागुनबाट बन्द यस उद्योगको वार्षिक क्षमता २३ सय मेट्रिक टन धागो, २ करोड ५० लाख मिटर कपडा उत्पादन क्षमता थियो।

०६९ माघ १२ को मन्त्रिपरिषद बैठकले हेटौडा कारखानाको सम्पत्ति शेयर लगानीका रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभेको थियो।(कान्तिपुर दैनिकबाट)