भ्रममा नपर्न चुरेभावर पार्टीको आह्वान, पार्टी एकताको थालनी

चैत ७, काठमाडौं–  चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले संगठनभित्र कारबाहीमा परेका तथा निस्क्रिय रहेका केही व्यक्तिहरूले पार्टी छाडेको जानकारीमा आएको भन्दै त्यस्ता व्यक्तिको पछाडि नलाग्न पार्टीपंक्तिमा आह्वान गरेको छ ।

चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले आज विज्ञप्ति जारी गरेर कारबाहीमा परेका र निश्किाषित भएका व्यक्तिको पछाडि नलाग्न सबैलाई आह्वान गर्नुभएको हो ।

‘केही व्यक्ति जो राष्ट्रियता र संघीय गणतन्त्रको विपक्षमा सधैँ लागिरहे, ती व्यक्तिहरू चुरेभावर पार्टीभित्र रहेर आन्दोलन भाँड्ने, आन्दोलनमा सरिक नहुने जस्ता कार्य गर्ने बिचलनवादी प्रवृत्तिका केही व्यक्ति पार्टीबाट अलग हुँदैमा हाम्रो पार्टी र संगठनहरूलाई कुनै पनि किसिमको असर पर्दैन’, विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष न्यौपानेले विज्ञप्तिमा अगाडि भन्नुभएको छ, ‘जसलाई हाम्रो पार्टीले साधारण सदस्यता समेत नरहने गरी ३ महिना अगाडि निश्कार्षन गरिसका छौँ । त्यस्ता व्यक्तिहरूको पलायनबाट चुरेभावर पार्टीलाई थप एकतावद्ध र सुदृढीकरण गर्न ठूलो सहयोग मिलेको छ ।’

चुरेभावर पार्टीको नाममा केही व्यक्तिहरू शनिबार पूर्व पञ्चहरूको पार्टी राप्रपा नेपालमा प्रवेश गरेपछि अध्यक्ष न्यौपानेले विज्ञप्ति जारी गरेर ती व्यक्तिहरू आफ्नो पार्टीसँग सम्बन्धित नरहेको बताउनुभएको हो ।

यसैबीच, चुरेभावर पार्टीको मुल संस्थापनबाट अलग भएका पार्टीहरूलाई एकठाउँमा ल्याउन प्रयास थालेको जनाएको छ । भूमिराज निरौला नेतृत्वको चुरेभावर लोकतान्त्रिक पार्टीसँग पनि एकीकरणको प्रयास सुरू गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो । यसअघि केशवप्रसाद मैनाली नेतृत्वको चुरेभावर राष्ट्रिय पार्टीसँग एक वर्ष अगाडि नै एकीकरण भइसकेको छ ।