चीनसँग इन्धनका साथै लिपुलेकको कुरा उठाउनु पर्यो ः विज्ञ

चैत ४, काठमाडौं –परराष्ट्रविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको क्रममा इन्धन मात्रै नभएर लिपुलेक, कैलाश मानसरोवरको विषयमा पनि छलफल गर्न सुझाव दिएका छन् ।
संवाद डबलीमा संयुक्त जनवादी युवा मोर्चाले ‘प्रधानमन्त्रीको आसन्न चीन भ्रमण र उपलब्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो धारणा राखेका हुन् ।
परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा इन्धन सम्झौताका साथै लिपुलेकबारे कुरा उठाउनुपर्ने बताए । उनले भने–“दक्षिण भ्रमण गर्दा गर्नै नहुने सम्झौता गर्लान् भन्ने डर र उत्तर भ्रमणमा जाँदा गर्नैपर्ने सम्झौैता पनि नगरिकन आउलान भन्ने डर नेपाली कुटनीतिक क्षेत्रमा उत्पन्न भएको छ ।”  श्रेष्ठले चीन भ्रमणको पूर्वसन्ध्यामा भारतीय पक्षबाट चीनसँग इन्धन लगायतका विषयमा सम्झौ रोक्ने प्रसाय भइरहेको भन्दै भारतले दुई गुणा बढी सस्तोमा इन्धन दिन्छु भने पनि चीनसँगको सम्झौता रोक्न नहुने बताए ।
राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले नेपालका राजनीतिज्ञको अपरिपक्वता र गैरजिम्मेवारीताका कारण चीन सरकारले तातोपानी नाक नखोलेको बताए । केसीले प्रधानमन्त्री ओलीले नेपालको हितमा आसा लाग्दो सम्झौता गर्न नसक्ने भन्दै सम्पुर्ण राष्ट्रिय शक्ति एकजुट भएर समान धारणा बनाउन सुझाव दिए । उनले नेपालको राष्ट्रिय सबलतका लागि राजनीतिक र कुटनीतिक क्षेत्रलाई जिम्मेवर, मर्यादित, बौद्धिक र सक्षम बनाउनुपर्ने बताए ।
पूर्व राजदुत तथा परराष्ट्रविद् डा विष्णुहरी नेपालले नेपाल र चीनबीचमा नयाँ मैत्री सन्धि हुनपर्ने बताए । उनले १० अर्ब डलरको विकास योजना बनाएर चीनसँग सहयोग माग्न सक्नु पर्ने धारणा राखेका छन् ।