अब नेपालमै हुन्छ जिका भाइरस परीक्षण

काठमाडौं– महामारीका रुपमा फैलिएको जिका भाइरस परीक्षण अब नेपालमै हुने भएको छ।
पछिल्लो दिनमा टाउकोदुखाइको विषय बनेको यो भाइरस परीक्षणका लागि महामारी तथा रोग नियन्त्रण महाशाखा टेकुमा प्रयोगशालालाई तयारी अबस्थामा राखिएको छ।

केही समयअघि ब्राजिलसहित ल्याटिन अमेरिकी देशहरुमा महामारीका रुपमा फैलिएको जिका भाइरस नेपालमा पनि गर्मी बढेसँगै फैलिन सक्ने आशंकामा प्रयोगशाला निर्माण गरिएको हो।

महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। बाबुराम मरासिनीले एक पटकमा सय ओटा नमुना परीक्षण गर्न सकिने गरी सय ओटा परीक्षण कीट तयारी अवस्थामा राखिएको बताए।

डेंगु रोग सार्ने लामखुट्टेबाट नै जिका भाइरससमेत सर्ने भएकाले नेपालमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको हो। (राजधानी दैनिकबाट)